विकास योजनाहरू कागजमा मात्र सीमित भएर हुँदैनः मुख्यमन्त्री कँडेल


सुर्खेत, वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको समुन्नति जनताको जागरुकता र सहभागितामै निर्भर हुने स्पष्ट पार्नुभएको छ । आज वीरेन्द्रनगर नगरपालिका–११ मा आयोजित स्थानीयबासीहरूसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेल भन्नुहुन्छ “विकास योजनाहरू कागजमा मात्र सीमित भएर हुँदैन, जनता स्वयं जिम्मेवारीका साथ अगाडि बढे मात्रै समृद्धिको सपना साकार हुन्छ ।” जनचेतनालाई विकासको मेरुदण्डको संज्ञा दिँदै उहाँले भन्नुभयो, “रातो किताबमा योजना आएको मात्र पुग्दैन, जबसम्म जनता त्यसको निगरानी, साथ र प्रत्यक्ष सहभागितामा उत्रदैनन्, तबसम्म अपेक्षित विकास सम्भव हुँदैन ।” उहाँले राजनीतिज्ञ, कर्मचारी, जनप्रतिनिधि मात्र होइन, अब जनता स्वयं पनि विकासको प्रक्रियामा सहयात्री बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “विकासको गति तीव्र बनाउने हो भने योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा जनताको चासो, सुझाब र अनुगमन हुनैपर्छ,” मुख्यमन्त्रीको भनाइ थियो ।

“हामीलाई जनताको चाहना बुझेर काम गर्ने संकल्प छ, त्यसैले अब जनताले पनि नेतृत्वमा विश्वास गर्नुका साथै निगरानी गर्नुपर्छ,” जोड दिदै मुख्यमन्त्रीले सरकारका प्राथमिकता स्थानीय आवश्यकता, क्षमता र जनअपेक्षाअनुसार हुने पनि प्रष्ट पार्नुभयो ।