वीरेन्द्रनगरमा पहिलो पटक ट्राफिक लाईट सञ्चालन, व्यवस्थित शहर बनाउने अभियानमा अर्को कदम (भिडियोसहित)


वीरेन्द्रनगर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पहिलो पटक ट्राफिक लाईट सञ्चालनमा आएको छ । नगरको सबैभन्दा व्यस्त चोकहरू मध्ये एक, वीरेन्द्र चोकमा जडान गरिएको उक्त लाईटको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले सोमबार एक कार्यक्रमका बीच स्वीच अन गरी शुभारम्भ गर्नुभयो । बढ्दो शहरीकरण र सवारी चापलाई व्यवस्थापन गर्दै सडक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

ट्राफिक लाईटको शुभारम्भ गर्दै नगरप्रमुख ढकालले वीरेन्द्रनगरमा तीव्र गतिमा बढिरहेको जनसंख्या, शहरीकरण र सवारी साधनको चापलाई व्यवस्थित गर्न नगरपालिकाले विभिन्न प्रयासहरूको थालनी गरेको बताउनुभयो । उहाँले सडक सुरक्षालाई प्राथमिकतामा राखेर ट्राफिक लाईटको सुरुवात गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “वीरेन्द्रनगरलाई एक व्यवस्थित र सुरक्षित शहर बनाउने हाम्रो अभियान हो । बढ्दो सवारी चापले निम्त्याउन सक्ने दुर्घटना न्यूनीकरण गर्न र सहज आवागमनका लागि ट्राफिक लाईट अत्यावश्यक थियो ।” उहाँले थप्नुभयो, “यसको सञ्चालनको लागि नगरपालिकाको समन्वय र सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मा दिएका छौं । साथै, चाँडै नै मंगलगढी चोक, ऐरी चोक र दैलेख रोड चोकमा पनि ट्राफिक लाईट जडान गर्नेछौं ।”

oplus_0

नगरपालिकाले ट्राफिक व्यवस्थापनसँगै अन्य भौतिक पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, मंगलगढी चोकमा आकाशे पुल निर्माणको लागि टेण्डर आह्वान भइसकेको छ, जसले पैदलयात्रीको सुरक्षामा ठूलो मद्दत पुग्नेछ । “हामीले नगरको फुटपाथ र खुल्ला पार्कहरूको व्यवस्थापनलाई अगाडि बढाइरहेका छौं,” उहाँले भन्नुभयो, “नगर सुरक्षाको लागि करिब ३०० वटा सिसिटिभी क्यामरा जडानको तयारी पनिमा पनि छौं । यसका साथै, नगरको हालको सिटी बसपार्क साँघुरो हुँदै गएकाले बसपार्कको पश्चिम तर्फको भागमा पार्किङ्गको व्यवस्था गर्नका लागि पनि टेण्डर आह्वान भइसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख ढकालले ट्राफिक लाईट सञ्चालन र व्यवस्थापनको जिम्मा औपचारिक रूपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारलाई सोसम्बन्धी हस्तान्तरण पत्र प्रदान गर्नुभयो । यो कदमले वीरेन्द्रनगरलाई एक सुरक्षित, आधुनिक र व्यवस्थित शहरको रूपमा विकास गर्ने नगरपालिकाको बृहत्तर योजनाको एक महत्वपूर्ण हिस्साको रूपमा हेरिएको छ ।