
नेपालगन्ज ÷(बाँके) । पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्दै सहकारीलाई भुइँ मान्छेहरूको जीवनस्तर सुधार गर्ने कडीका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवालाहरू विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बाँकेको नेपालगन्ज स्थित शुक्रवारका दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका तथा कार्यक्रमका प्रशिक्षक छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गर्नुभएको थियो । । सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलिसीले मात्रै व्यक्ति र समाजको रूपान्तरण गर्ने र त्यसको भरपर्दो माध्यम सहकारी नै भएको विचार व्यक्त गर्नुभएको थियो ।
त्यसै विषयमा केन्द्रित रही प्रशिक्षक धमलाले जतिसुकै बलियो भएपनि कुर्कुच्चाले होइन पाँच औंला मिलेको पन्जाले नै सिङ्गो मानव शरीरलाई धान्ने वा नाक मुख आँखा कमर पेट ढाड जस्ता एकल अङ्गहरूले नभएर औंला औंला मिलेर मात्रै कलम चलाउन सकिने सटिक उदाहरण सहित सहकारीको मर्म माथि प्रकाश पार्नुभएको थियो ।
तीन दर्जन बढी सहभागीहरूको सहभागिता रहेको उक्त प्रशिक्षणमा प्रशिक्षकले सहकारीको चुनौती सीमित सहकारीकर्मीहरूको निजी स्वार्थका कारण गिर्दै गएको साख र उक्त साखलाई फिर्ता ल्याउन सेयर सदस्य,सहकारी कार्यसमितिका पदाधिकारी एवं कर्मचारीहरुले सुझाउनुपर्ने उपायका बारेमा सरल एवं सुबोध्य ढङ्गले प्रकाश पार्नुभएको थियो ।
संस्थाका सचिव महेन्द्र सेढाईले सहजीकरण गरेको उक्त कार्यक्रममा पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक बामदेव भट्टराईले समेत छलफलमा उठेका केही अस्पष्ट विषयहरूलाई स्पष्ट पार्न सहयोग पु¥याएका थियो । विभिन्न आकर्षक चित्रहरूको दृश्य सामग्री प्रस्तुत गरी सहभागीहरूलाई उत्साही बनाउँदै सञ्चालन गरिएको उक्त कार्यक्रममा सहकारीका पदाधिकारी, कर्मचारी लगायतको सक्रिय सहभागिता रहेको थियो भने सहभागीहरूले कार्यक्रम निकै फलदायी रहेको प्रतिक्रिया व्यक्त गरेपछि संस्थाका उपाध्यक्ष लेकप्रसाद प्याकुरेलले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २९ असार २०८२, आईतवार १८:३४ बजे