
कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’ सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो ।
गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ ।
गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्मिक अभिनय देख्न सकिन्छ भने जानकी पुन मगरले आकर्षक नृत्य प्रस्तुत गर्नुभएको छ ।
भिडियोलाई निर्मल प्याकुरेलले उत्कृष्ट ढंगले छायाँङ्कन गर्नुभएको छ भने सम्पादन पनि उहाँले गर्नुभएको छ । कलाकारहरुको श्रृंगार डिलु सुनारले गर्नुभएको छ । समग्रमा, शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनले यो गीतलाई एक अब्बल तीज कोशेली बनाएको छ । गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ ।



Prawash Kumar Shakya । १ श्रावण २०८२, बिहीबार १७:३१ बजे