दीपक-दीपासँग सम्बन्ध विग्रिएको चर्चामा ‘धुर्मुस’को यस्तो स्पष्टिकरण


१९ फागुन, चलचित्र ‘६क्का पन्जा’मा कलाकार सिताराम कट्टेल नदेखिएने भएपछि अहिले निर्माता तथा कलाकार दीपकराज गिरी र उनीविचको सम्बन्धमा दरार आएको चर्चा चलचित्र वृत्तमा चलेको छ । विशेषगरि, चलचित्र ‘वडा नम्बर ६’को प्रचारदेखि यसको सफलता कार्यक्रममा पनि उनी देखिएनन् ।
यसपछि, यही समुहले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘६क्का पन्जा’मा पनि उनी मात्र नदेखिने भएपछि दीपकराज  गिरी र दीपाश्री निरौलासँग उनको सम्बन्ध बिग्रिएको चर्चा भएको छ ।
यस अगाडिका २ चलचित्रमा देखिएका सबैजसो कलाकार देखिदा सिताराम कट्टेल’धुर्मुस’ नदेखिनुले सम्बन्ध विग्रिएको चर्चा चल्नु स्वभाविक नै हो । चलचित्र वृत्तमा यस्तो चर्चा सुरु भएपछि फेसबुकमार्फत सितारामले स्पष्टिकरण दिएका छन् र त्यसलाई निर्माता तथा कलाकार दीपकराज गिरीले शेयर पनि गरेका छन् ।
सितारामले लेखेका छन्-‘व्यस्तताका कारण हामीले न कुनै स्टेज कार्यक्रम गर्न भ्याएका छौ न त ६क्का पन्जा नै गर्न भ्यायौं । यद्यपी चलचित्र निर्माण टोलीमा सामेल रहेका छौं । साथै, धुर्मुस-सुन्तली लोटे चर्पी, ज्योती लगायत मनोरञ्जन एवं जनचेतनामुलक छोटा चलचित्रहरु तपाइले छिट्टै हेर्न पाउनुहुनेछ । कुनै भ्रम नपरोस्, हाम्रो सम्बन्ध उस्तै सुमधुर छ ।’
चलचित्र ‘६क्का पन्जा’लाई दीपाश्री निरौलाले निर्देशन गर्न लागेकी हुन् । चलचित्रका लागि नायिका नम्रता सापकोटा र बर्षा राउत पनि पक्का भएका छन् । साथमा, किरण केसी पनि अब चलचित्रमा देखिनेछन् । चैत्र ८ गतेबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

साभारः अनलाइन खबर