
नेपालगंज (बाँके) पवन जायसवाल । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले ६०औं नेपाल रक्तसंचार दिवसको अवसरमा प्रादेशिक रक्त संचारको नयाँ भवनबाट रक्त संचार सेवा प्रारम्भ गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा भेरी अस्पताल नेपालगन्जको परिसर भित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा रक्तसंचार सेवाका लागि नवर्निमित नेरेसो प्रादेशिक रक्तसंचार सेवा भवनबाट दिवसको अवसरमा सेवा प्रारम्भ भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय महामन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि मीनबहादुर मल्लले नवर्निमित भवनको मुलप्रवेशद्वारको रिबन काटेर रक्तसंचार सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको थियो । उहाँले नेपाल रेडक्रसको विभिन्न सेवा मध्ये रक्तसंचार मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने एक महत्वपूर्ण सेवा रहेको छ । हामीले गुणस्तरीय सेवा प्रवाह गरिरहेको कुरा उल्लेख गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले भवन निर्माणका लागि सहयोग गर्नुहुने पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई धन्यवाद व्यक्त गर्दै रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरु प्रति आभार प्रकट गर्नु भएको थियो ।
रक्तसंचार सेवाबाट आ.ब. २०८१/०८२ मा १६ हजार १ सय ५१ सकंलन र २३ हजार १ सय ९६ पिन्ट रगत वितरण गरिएको छ । रक्तसंचार सेवाबाट डाक्टरको सिफारिसमा पि.आर.पी., एफ.एफ.पी.प्याकसेल, (सेतो रक्तकोष) होल ब्लड र फ्रेस ब्लड उपलब्ध गराउदै आएको कुरा प्रादेशिक रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ ।
रक्तसंचार सेवा दिवसका अवसरमा प्रादेशिक रक्त संचारको नयाँ भवनबाट रक्त संचार सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको पहिलो संस्था दैलेखी सेवा समाज हो । दैलेखी सेवा समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६५ जनाले रक्तदान गरेका छन ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार केन्द्र, रक्तसंचार सेवा व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महामन्त्री मीनबहादुर मल्ल, शाखा सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दीकी, भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह लगायतले विचार व्यक्त गर्नु भएको थियो भने बार्षिक प्रतिवेदन प्रादेशिक रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र दैलेखी सेवा समाजका पदाधिकारी र स्वयंसेवी रक्तदाताहरुको उपस्थिति रहेको थियो । नेरेसो लेखा शाखाका अधिकृत झवीलाल शर्माले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।




Prawash Kumar Shakya । १३ श्रावण २०८२, मंगलवार १०:५० बजे