नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सवमा रक्तदान


२१ साउन, सुर्खेत । “नेपाल प्रहरी श्रीमती संघको ४१औं वार्षिकोत्सव” को अवसरमा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष श्रीमती सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २२ जना स्वयंसेवकद्वारा रक्तदान गरिएको थियो ।

रक्तदान कार्यक्रममा सुर्खेतस्थित विभिन्न दर्जाका १५ जना प्रहरी कर्मचारी तथा कर्णाली प्रदेश प्रहरी विद्यालयमा कार्यरत ७ जना शिक्षक–शिक्षिकाले स्वेच्छापूर्वक रगतदान गर्नुभएको थियो ।

कार्यक्रमलाई कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ, प्रहरी नायव उपरीक्षक ज्योतनारायण राय यादव, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनार, कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका डा. विवेक पन्थी, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेत प्राविधिक विकास गिरी, नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका सचिव भूमिका तारामी घर्ती मगर, सह–सचिव श्रीमती मिना कुमारी शर्मा, सदस्य श्रीमती अस्मिता खनालसहित प्रहरी अधिकृत तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक टोली तथा कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको प्रत्यक्ष सहयोगमा सम्पन्न गरिएको हो । स्वयंसेवी रक्तदाताहरूलाई समाजसेवामा प्रेरक योगदानका लागि नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशकी अध्यक्ष श्रीमती सुमन श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।