
सुर्खेत उद्योग वाणिज्य संघले चालू आर्थिक वर्षदेखि आफ्ना साधारण सदस्यहरुको लागि जीवन तथा दुर्घटना विमा कार्यक्रम लागू गरेको छ । संघको बुधबार बसेको कार्य समितिको पाँचौं मासिक बैठकले सदस्यहरुको जीवन तथा दुर्घटनाका लागि ५ लाख रुपैयाँसम्मको विमा गर्ने निर्णय गरेको हो ।
चालू आर्थिक वर्षदेखि लागू हुने गरी शुरु गरिएको जीवन विमा अभियानको पहिलो चरणअन्तर्गत पहिला सदस्यता नविकरण गर्ने १ सय ५० जना सदस्यको जीवन विमा गरिने संघले जनाएको छ । बुधबार नै स्वतःस्फूर्त रुपमा सदस्यता नविकरण गर्न आएका वीरेन्द्रनगर १२ स्थित चन्दननाथ सौर्य ऊर्जा एण्ड इलेक्टोनिक्स सप्लायर्सका प्रोप्राइटर नन्दबहादुर शाहीको जीवन विमा गरी अभियानको शुरुवात गरिएको छ ।
संघमा आवद्ध हुने सदस्यलाई संघले अभिभावकका रुपमा संरक्षण गर्ने उद्देश्यले विमाको आयोजना लागू गरिएको अध्यक्ष हर्षविक्रम खड्काले जानकारी दिनुभयो । ठूला व्यवसायी सबैले आ आफ्नो र परिवारको समेत विमा गराई भबितब्य पश्चात आर्थिक सुरक्षाको सुनिश्चितता गरेपनि ठूलो रकम (प्रिमियम) तिरेर व्यक्तिगत रुपमा विमा गर्न नसक्ने साना तथा मझौला व्यवसायीहरुलाई लक्षित गरी यस्तो अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।
प्रारम्भिक र परीक्षणकाल भएकाले संस्थाले पहिलो वर्ष १ सय ५० जनाको मात्र विमा गराएपनि अभियानको प्रभाव र सफलता अनुसार आगामी वर्षमा विमाको दायरा र संख्यापनि बढाउँदै लगिने योजना उहाँले सुनाउनुभयो ।
संघमा आवधिक रुपमा सदस्यता नविकरण गर्ने सदस्यको निधन भएमा विमावापतको ५ लाख रुपैयाँका साथै पार्थिव शरिर व्यवस्थापन तथा अन्तिम संस्कार खर्चवापत १० हजारदेखि ५० हजारसम्म प्रदान गरिने जनाइएको छ । यस्तै कुनै कारणवश घटना दुर्घटनामा परी शारिरीक अपांगता भएको अवस्थामापनि स्वास्थ्य अवस्था हेरी विमांकको दश प्रतिशतदेखि शत प्रतिशतसम्म रकम पाउने गरी विमा गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
संघका सदस्यहरुलाई संघप्रतिको अपनत्व र आवद्धता बढाउने उद्देश्यले सुर्खेतस्थित कर्णाली केयर हस्पिटलमा संघका सदस्य र परिवारको औषधी उपचारमा समेत विशेष छुटको व्यवस्था यसअघि नै मिलाई सकिएको छ । सुर्खेतदेखि काठमाण्डौं हुँदै विभिन्न स्थानमा सरसामान लिन जाने वा अन्य विभिन्न कामले सार्वजनिक यातायातमा जाँदा संघको परिचयपत्रका आधारमा विशेष छुट दिलाउने पहलपनि भैरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । २१ श्रावण २०८२, बुधबार १९:५५ बजे