विमानस्थलमै वरिष्ठता विवाद


PM
प्रधानमन्त्री पुष्पकमल दाहालकाे बुधबार विमानस्थलमा स्वागत गर्दा उपप्रधानमन्त्री कमल थापाकाे छेउमा नउभिन अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरलाई आफूतिर तान्दै उपप्रधानमन्त्री विमलेन्द निधि । साथमा ओनसरी घर्ती

काठमाडौः उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापामध्ये वरीयतामा को माथि भन्ने विवाद बुधबार विमानस्थलमा समेत लज्जाजनक रूपमा देखिएको छ । चीन भ्रमण सकेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने क्रममा उपप्रधानमन्त्रीद्वयबीच वरीयताको विवाद प्रस्ट रूपमा देखियो ।

प्रधानमन्त्री दाहाललाई अति विशिष्ट कक्षमा स्वागत गर्न उपप्रधानमन्त्रीत्रय निधि, थापा र कृष्णबहादुर महरा बिहान १० बजे विमानस्थल पुगेका थिए । प्रधानमन्त्री विमानबाट ओर्लनु आधा घन्टा अघिदेखि निकै रोचक र असहज अवस्था विमानस्थलको भीभीआईपी कक्षमा देखियो । प्रधानमन्त्रीलाई स्वागत गर्ने लहरमा वरीयताक्रमअनुसार सभामुख ओनसरी घर्ती सुरुमा उभिइन् । सभामुखपछि उपप्रधानमन्त्री थापा उभिए । तेस्रोमा उभिन पुगे उपप्रधानमन्त्री निधि । थापालाई सभामुखसँगै देखेपछि आफू सरकारको वरिष्ठ उपप्रधानमन्त्री रहेको दाबी गर्दै आएका निधि आक्रोशित मुद्रामा देखिए ।

थापासँग हातसमेत नमिलाएका निधिले निकै असहज महसुस गरे । त्यही बेला अर्का उपप्रधानमन्त्री महरा आइपुगे । निधिले महरालाई थापातिर घिसारेर आफू बसेको लहरको तेस्रो स्थानमा राखे, अनि चौथोमा आफू उभिए । महरालाई निधिले तानेर आफूतिर राखेको देखेपछि थापा आक्रोशित देखिए तर प्रतिक्रिया दिएनन् । उनी रिसले चुर देखिन्थे । मन्त्री थापा न मन्त्री निधिसँग बोले, न त महरासँगै । थापा सभामुख घर्तीसँग खासखुस गर्दै सञ्चारकर्मीतिर हेर्दै थिए । निधि महरासँग खासखुस गर्दै केही क्षणपछि मुख्यसचिव डा. सोमलाल सुवेदीछेउ पुगे । सुवेदीसँग पनि उनको खासखुस चल्यो । महरा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल पनि खासखुस गर्दै थिए ।

प्रधानमन्त्री आइपुग्दा झमझम पानी परिरहेको थियो । लहरमा क्रमशः बसेका सभामुख घर्ती, थापा, महरा र निधिले प्रधानमन्त्री र परराष्ट्रमन्त्री प्रकाशशरण महतको स्वागत गरे । मन्त्री निधि र थापा दुवै बेखुस मुद्रामा देखिन्थे । पानी परिरहेका कारण नेपाली सेनाले प्रधानमन्त्रीको स्वागतमा सलामी दिन नजिकैको टहरामा व्यवस्था गरेको थियो । सेनाले सलामी दिइसकेपछि विमानस्थलकै अतिविशिष्ट कक्षको हलमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्री थापासँगै बसे । असन्तुष्ट बनेका निधि देखिएनन् ।

स्वदेश फर्केका प्रधानमन्त्री दाहालले विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री दिँदा किन विवाद भएको भन्ने पत्रकारको प्रश्नमा भने, ‘कार्यवाहक तोक्नुपर्छ अनिवार्य रूपमा भन्ने मैलेचाहिँ देखिनँ । अलिकति तयारी÷छलफल गर्नुपर्ने देखेपछि मैले उहिलेको युगको कुरा हो, अहिलेको युगमा त सबै कुरा भइराख्छ भनेर चीन गएँ । अब टुंगिन्छ त्यो विवाद ।’

उपप्रधानमन्त्रीबीचको वरीयता विवादका कारण प्रधानमन्त्रीले चीन जानुअघि तीन उपप्रधानमन्त्रीमध्ये कसलाई कार्यवाहक दिने भन्ने निर्णय लिन सकेनन् । थापा र निधिले आफूलाई कार्यवाहक प्रधानमन्त्री दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका थिए । थापा र निधि कसलाई कार्यवाहक प्रधानमन्त्री दिने भन्नेमा विवादले निर्णय लिन नसकेपछि प्रधानमन्त्री कसैलाई कार्यवाहक नदिई चीन उडेका थिए । निधि र थापाले आफूलाई वरिष्ठ उपप्रधानमन्त्री दिनुपर्ने बताउँदै आएका छन् ।

दुई साताअघि उपप्रधानमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा थापा निधिको स्थानमा बसेका थिए । अरू बेला निधि प्रधानमन्त्री पछिको कुर्सीमा बस्ने गर्थे । थापा आफ्नो कुर्सीमा बसेको थाहा पाएपछि निधिले प्रधानमन्त्रीसँग सोधेका थिए । यसपछि थापा र निधिबीच वरिष्ठताका सवालमा विवाद सुरु भएको थियो । त्यसयता थापा र निधिबीच राम्रो बोलचालसमेत छैन ।

साभारः अन्नपूर्णपोष्ट अनलाइन