बर्दिवास, २० चैत । महोत्तरीको बर्दिवास– १ को एकीकृत नमुना मुसहर बस्तीमा सर्ने तयारीमा रहेका दलित मुसहर नयाँ वर्षमा नयाँ घरमा बस्न पाइने भन्दै दङ्ग छन् । नयाँ वर्षमा मनाइने मिथिलाको पर्व जुडशीतल नयाँ घरमा मनाउन पाउने कुराले उनीहरु निकै उत्साहित छन् ।
पुस्तौंदेखि पराले झोपडीमा जीवन गुजारेका मुसहर समुदाय आफ्ना लागि धुर्मुस–सुन्तली फाउण्डेसनले बनाइरहेको बस्ती निर्माणको अन्तिम चरणमा रहँदा दङ्ग परेका हुन् ।
‘बुझलिय हजुर, आब हमसब ओई घरमे सैर रहल छि’ (बुझ्नुभो हजुर, अब हामी ती घरमा सर्छौं नि !) बस्ती अवलोकनमा पुगेका सञ्चारकर्मीसँग खुसी साट्दै बस्तीकी मनिता सादाले भनिन्, ‘आब जुडशीतल पावैन ओही घरमें मनायब’ (अब हामी जुडशीतल पर्व तिनै नयाँ घरमा मनाउँने छौं ।)
हास्यकलाकार धुर्मुस–सुन्तलीको फाउण्डेसनले यहाँका ५० घरधुरी मुसहरका लागि निर्माण गरेका घर निर्माणको काम सकिनै लाग्दा यहाँका मुसहरहरु बस्ती पुग्ने जोसुकैलाई खुसी व्यक्त गर्न चुक्दैनन् ।
बस्तीका घर तयार भएर टिलिक्क टल्किए जस्तै मुसहरका अनुहारमा पनि मुस्कान टल्किएको देखिन्छ । फाउण्डेसनले आउँदो बैशाख १ गते बस्ती हस्तान्तरण गर्ने घोषणा गरेअनुरुप अन्तिम तयारी अघि बढाएपछि मुसहर बस्तीका महिला बढी खुसी देखिएका छन् ।
बस्तीकी जितो सादा मुसहरले प्रफुल्ल हुँदै सुनाइन्, ‘अब हामीलाई कडा घामको राप र वर्षाको पानीको डर हुने छैन ।’
बस्तीका एसएलसी उतीर्ण गरेका एक्ला किशोर १८ वर्षीय मञ्जे सादाले भन्नुभयो, ‘अब सासू–ससुरा, छोराबुहारी र पाहुनाले एउटै झोपडीमा कोचिएर सुत्नुपर्ने छैन । ‘धुर्मुस–सुन्तलीले घर बनाइदिएर हामी मुसहरमा उन्नत जीवनको कल्पनासमेत भरिदिए ।’
गत पुस २५ गते शिलान्यास गरी निर्माण थालिएका ५० घर बनिसकेका छन् । अहिले बस्तीभित्रका सडक पीसीसी ढलान र ३२ फिट अग्लो भ्यू–टावर निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक, बिजुली, खानेपानी धारा, मुसहरका कूलदेवता दिनभद्रीको मन्दिर, सार्वजनिक शौचालय, सामूहिक भवन र बाल उद्यान निर्माणको काम पनि अब सकिनै लागेको फाउण्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले जानकारी दिए ।
नयाँ वर्षको पहिलो दिन बिहान सो बस्ती मुसहरलाई हस्तान्तरण गरिने धुर्मुसको भनाइ छ ।
धुर्मुस–सुन्तलीले घरमात्र नभएर मन पनि दह्रो बनाइदिएका बस्तीकी अगुवा मानकी सादाले बताइन् । धुर्मुस–सुन्तलीकै सङ्गत पाएर आफ्ना नानीहरु नियमित सरसफाइ र पठनपाठनमा लागेका उनको भनाइ छ ।
‘बस्तीका ७० भन्दा बढी हाम्रा नानी स्कूल जान थालेका छन्’ मानकीले भनिन्, ‘धुर्मुस–सुन्तलीले घर मात्र हैन, हाम्रो मन पनि बनाइदिए ।’
आफूले सोचे जस्तै ठीक समयमा बस्ती निर्माणको काम सम्पन्न भएर तोकिएकै दिन बस्ती हस्तान्तरणको तयारी बढेपछि फाउण्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस पनि खुसी हुनुहुन्छ । ‘शिलान्यासकै दिन वैशाख १ गते बस्ती हस्तान्तरण घोषणा गरेका थियौं’ धुर्मुसले सञ्चारकर्मीसँग भने, ‘समयमा काम सम्पन्न हुन्छ कि हुन्न भन्ने द्विविधा सहयोगी साथीहरुले हटाइदिए ।’
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । २० चैत्र २०७३, आईतवार १३:०० बजे