सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी विकास बजेटलाई कुनै व्यक्तिले ‘आफूले ल्याएको’ भनेर जस लिने राजनीतिक प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतको चौकुने गाउँपालिका वडा नं. ६ को नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले बजेट जनताको करबाट आउने भएकाले यसमा कसैको व्यक्तिगत दाबी नलाग्ने स्पष्ट पार्नुभयो ।
“संघ, प्रदेश, पालिका वा वडा, जहाँबाट बजेट आए पनि त्यो हामी सबैले तिरेको कर हो, कसैको व्यक्तिगत सम्पत्ति होइन,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “‘मैले ल्याएको हो, मेरो योजना हो’ भनेर कसैले दाबी गर्ने र जनताले पनि त्यसलाई पत्याइदिने गलत परिपाटी अब बन्द हुनुपर्छ ।” उहाँले योजना पार्नका लागि सबै सक्रिय हुने तर योजना स्वीकृत भइसकेपछि त्यसप्रति बेवास्ता गर्ने प्रवृत्तिले विकासको गतिलाई सुस्त बनाएको औंल्याउनुभयो । “यो हाम्रो आफ्नो लागि आएको योजना हो भन्ने अपनत्व नागरिकमा नभएसम्म विकास दिगो हुन सक्दैन,” उहाँले थप्नुभयो ।
निर्माणाधीन सडकको निरीक्षण, समयमै काम सक्न निर्देशन
यसैवीच वडा कार्यालय भवनको उद्घाटनपश्चात् मुख्यमन्त्री कँडेलले सोही क्षेत्रमा निर्माणाधीन रणनीतिक महत्त्वको सडकको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो । उहाँले लखरपाटा-खम्बागाडे-मुरमुरी-जामु-सुनकाँडा सडकको प्रगतिबारे जानकारी लिँदै निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । साथै, उहाँले सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गरिदिन स्थानीय बासिन्दालाई आग्रह समेत गर्नुभयो ।





Prawash Kumar Shakya । २७ श्रावण २०८२, मंगलवार १९:३५ बजे