
‘रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने पवित्र उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजले गोरखा जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । आज (शनिबार) गोरखामा सम्पन्न एक भेलाले मनोज पोखरेलको संयोजकत्वमा ९ सदस्यीय गोरखा नगरपालिका तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिको सदस्यहरूमा धनबहादुर गुरुङ, अर्जुन खड्का, विशाल देवकोटा, विनय बराम, विशाल कुमाई र इन्द्रप्रसाद अंगाई चयन हुनुभएको छ । समितिमा बाँकी दुई सदस्य पछि मनोनयन गरिने समाजले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि, नेपालकै सर्वाधिक (१८३) पटक रक्तदान गर्ने ‘शतक रक्तदाता’ प्रेमसागर कर्माचार्यले नवनिर्वाचित पदाधिकारीहरूलाई संस्थाको प्रतीक-चिह्न (ब्याज) प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभयो । उहाँले रगतको कुनै विकल्प नभएको बताउँदै स्वयंसेवी रक्तदाताहरूको सञ्जाललाई देशभर विस्तार गर्नुको महत्त्वमाथि प्रकाश पार्नुभयो । “हरेक वस्तुको विकल्प हुन्छ, तर रगतको विकल्प रगत नै हो,” प्रमुख अतिथि कर्माचार्यले भन्नुभयो, “त्यसैले हामीले स्वयंसेवी रक्तदाताहरूलाई जिल्ला, पालिका र वडा तहसम्म संगठित गर्दै मानवीय सेवामा जोड्न खोजेका हौं ।”
सो अवसरमा समाजका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष रामबहादुर खड्काले जिल्लाभर रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन क्रमशः अन्य पालिका र वडाहरूमा पनि समिति विस्तार गरिने योजना रहेको जानकारी दिनुभयो ।




Prawash Kumar Shakya । ३१ श्रावण २०८२, शनिबार १६:३४ बजे