
सुर्खेत उद्योग वाणिज्य संघले सदस्य सुरक्षा संकल्प योजनाअन्तर्गत अघि सारेको सदस्य वीमा कार्यक्रमको प्रभावकारिता व्यापक देखिएको छ । गत महिना बसेको कार्य समितिको बैठकबाट निर्णय भएलगत्तै सदस्य सुरक्षित, प्रगति सुनिश्चित भन्ने मूल नाराका साथ शुरु भएको वीमा अभियानमा एक महिनापनि नबित्दै ५० जना आवद्ध भैसकेका छन् ।
चालू आर्थिक वर्षका लागि संघको सदस्यता नविकरण गराउने सदस्यलाई क्रमिक रुपले समट्दै जाने गरी जीवन वीमा अभियान शुरु गरिएको संघका अध्यक्ष हर्षविक्रम खड्काले बताउनुभयो । सदस्यप्रति संघको अभिभावकत्व र संघप्रति आम सदस्यको अपनत्व वृद्धि गर्ने उद्देश्यले विमासहित औषधी उपचार, यातायात एवं होटल सेवामा विशेष छुट्को आयोजना लागू गरिएको अध्यक्ष खड्काको भनाई छ । चुनावका बेला र चुनावका लागि मात्रै सदस्यता नविकरण गर्ने गराउने प्रवृत्तिलाई निरुत्साति गरी संस्थाप्रतिको आवद्धता र आस्था दुबै बढाउने गरी विभिन्न छुट सहुलियतका अन्य अभियानपनि चलाइने उहाँको भनाई छ । ठूला व्यवसायी सबैले आ आफ्नो र परिवारको समेत विमा गराई भबितब्य पश्चात आर्थिक सुरक्षाको सुनिश्चितता गरेपनि ठूलो रकम (प्रिमियम) तिरेर व्यक्तिगत रुपमा विमा गर्न नसक्ने साना तथा मझौला व्यवसायीहरुलाई लक्षित गरी यस्तो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
संघमार्फत ५ लाख रुपैयाँसम्मको जीवन तथा दुर्घटन वीमा हुने भएपछि आफुले स्वतःस्फूर्त रुपमा सदस्यता नविकरण गराएको वीरेन्द्रनगर १२ स्थित चन्दननाथ सौर्य ऊर्जा एण्ड इलेक्टोनिक्स सप्लायर्सका प्रोप्राइटर नन्दबहादुर शाहीले प्रतिक्रिया दिनुभयो ।
सदस्यहरुलाई दुर्घटना विमा तथा औषधी उपचारमा छुट सहुलियतका दुई फरक फरक सम्झौताहरुमा सोमबार हस्ताक्षर भएका छन् । ५ लाख रुपैयाँसम्मको दुर्घटना वीमाका लागि सुर्खेतस्थित सानिमा जीआईसी इन्स्योरेन्स लि.र औषधी उपचारमा हुने छुटका लागि कर्णाली केयर इन्टरनेशनल हस्पिटल एवं रिसर्च सेन्टरसंग अलग अलग सम्झौतामा हस्ताक्षर भएका हुन् । वीमाअनुसार अब संघमासदस्यता नविकरण गर्ने सदस्यको निधन भएमा विमावापतको ५ लाख रुपैयाँका साथै पार्थिव शरिर व्यवस्थापन तथा अन्तिम संस्कार खर्चवापत १० हजारदेखि ५० हजारसम्म प्रदान गरिनेछ ।
यस्तै कुनै कारणवश घटना दुर्घटनामा परी शारिरीक अपांगता भएको अवस्थामापनि स्वास्थ्य अवस्था हेरी विमांकको दश प्रतिशतदेखि शत प्रतिशतसम्म रकम पाउने गरी सदस्यहरुको विमा गरिएको संघले जनाएको छ । सम्झौताअनुसार संघका कुनैपनि सदस्य वा उद्योग व्यवसायका कर्मचारी मजदुर विरामी, घाइते भई उपचार गर्नुपर्ने अवस्था भएमा संघको परिचयपत्रका आधारमा कर्णाली केयर हस्पिटलमा ५ देखि ३५ प्रतिशतसम्म छुट पाइनेछ ।
यसैगरी सामान लिन वा अन्य कुनै कारणले हप्ता दिन वा लामो समय काठमाण्डौं बस्नपर्ने अवस्थामा काठमाण्डौंको सुन्धारास्थित एक होटलमा संघको कार्ड देखाए भारी छुट पाइने गरी सुविधा दिलाइएको छ ।
सुर्खेतदेखि काठमाण्डौं हुँदै विभिन्न स्थानमा सरसामान लिन जाने वा अन्य विभिन्न कामले सार्वजनिक यातामा जाँदा संघको परिचयपत्रका आधारमा विशेष छुट दिलाउने पहलपनि भैरहेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । २ भाद्र २०८२, सोमबार १७:१८ बजे