कर्णाली याक्सको ट्यालेन्ट हन्ट हुँदै


कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.ले सोमबार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले स्थानीय प्रतिभावान खेलाडी खोज्न लागेको हो ।

ट्यालेन्ट हन्ट सोमबार बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरमा रहेको इन्डोर हलमा आयोजना हुने कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार अघिल्लो दिनसम्म दुई सय भन्दा बढी युवा खेलाडीले ट्यालेन्ट हन्टमा सहभागी हुन निवेदन दिएका छन् । ‘हामीले खुलाएको दर्ता फाराम मार्फत मात्रै दुई सय भन्दा बढी खेलाडी ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक देखिनुभएको छ,’ प्रशिक्षक बस्नेतले भन्नुभयो, ‘फाराम भर्न कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरुलाई ट्यालेन्ट हन्टमा सहभागी गराउने छौं ।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट एसोसिएसनले सहजीकरण गर्नेछ । २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिन शर्मा यसपटक कर्णाली याक्स मै फर्किनु हुनुभएको छ । उहाँ पहिलो संस्करणको प्रतियोगिताको उदयीमान खेलाडी घोषित हुनुभएको थियो ।

सोमबार हुने ट्यालेन्ट हन्टमा सहभागी भएका विपिनले आफूजस्तै अर्काे ट्यालेन्ट आउनेमा आशावादी रहेको बताउनुभयो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको हो ।

अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो । यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टो सँग सम्झौता नवीकरण गर्दा जेम्सवाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो ।