
कुष्ठरोग एक जीवाणु (Mycobacterium leprae)का कारण हुने दीर्घकालीन संक्रामक रोग हो। यसले मुख्यतः छाला, स्नायु, आँखा तथा नाकलाई असर गर्ने गर्दछ। समयमै पहिचान र उपचार नगरिएमा शारीरिक अपाङ्गता हुनसक्ने भए पनि कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग हो । यो रोग उपचार नगरेको कुष्ठरोग विरामिसंग लामो समय (हप्तामा २० घण्टा भन्दा बढी समय) सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत:श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्दछ ।
हाल देशभरिका पहाडी जिल्लाहरूमध्ये कर्णाली प्रदेशको जाजरकोट जिल्लामा कुष्ठरोगको भार उच्च रहेको एक तथ्याङ्कले देखाएको छ । जनस्वास्थ्य मापदण्डअनुसार प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी कुष्ठरोगी भएमा यसलाई जनस्वास्थ्य समस्याको रूपमा लिइन्छ । हाल जाजरकोट जिल्लाभर जम्मा १८ जना कुष्ठरोगी उपचारको दायरामा रहेका छन् । ती मध्ये नलगाड नगरपालिकामा ६ जना, छेडागाड नगरपालिकामा ५ जना, जुनिचाँदे गाउँपालिकामा ३ जना तथा भेरी र बारेकोट गाउँपालिकामा २/२ जना बिरामी रहेका छन् ।
कुष्ठरोगसँग जोडिएको सामाजिक लाञ्छना र भेदभाव न्यूनीकरण गर्दै रोगको शीघ्र पहिचान, उपचार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वयमा जिल्लाका सम्पूर्ण स्थानीय तहमा कुष्ठरोग केस भेरिफिकेशन कार्यक्रम पौष १७ देखि २२ गते सम्म सम्पन्न भएको छ । साथै, नलगाड नगरपालिकामा सक्रिय खोजपड्ताल (Active Case Detection) कार्यक्रम समेत सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत पहिल्यै दर्ता भएका कुष्ठरोगका केसहरूको पुनः परीक्षण, उपचारको निरन्तरता, औषधि सेवनको अवस्था तथा अपाङ्गता रोकथामसम्बन्धी अवस्थाको मूल्याङ्कन गरिएको छ । सक्रिय खोजपड्तालका क्रममा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले घरदैलोमा पुगेर संकास्पद बिरामीको खोजि गरि दल्ली अस्पतालमा प्रेषण गरि त्यहाँ विषशेज्ञ सेवा मार्फत छाला तथा स्नायु सम्बन्धी लक्षणको जाँच गर्दै सम्भावित नयाँ केसहरूको पहिचान गरेका थिए ।
स्वास्थ्य सेवा कार्यालय, जनस्वास्थ्य तथा परिवार कल्याण शाखा जाजरकोटका प्रमुख जनस्वास्थ्य अधिकृत रमेश कार्कीले कुष्ठरोग इतिहासकै पुरानो रोग भए पनि यसप्रति रहेको सामाजिक लाञ्छना र अन्धविश्वासका कारण अझै पनि केही बिरामी लुकेर बसेको हुन सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने र अपाङ्गताबाट बच्न सकिन्छ । साथै औषधिको एक मात्र डोज सेवन गरेपछि पनि रोग अन्य व्यक्तिमा सर्ने सम्भावना अत्यन्त न्यून रहने उहाँको भनाइ छ ।
कार्कीले सही समयमा रोगको निदान नहुँदा तथा अन्य उपचार विधि अपनाउँदा उपचार खर्चिलो हुने गरेको उल्लेख गर्दै नेपाल सरकारले तोकेका स्वास्थ्य संस्थामा कुष्ठरोगको निःशुल्क निदान तथा सम्पूर्ण सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि उपलब्ध रहेको जानकारी दिनुभयो । साथै कुष्ठरोग कुनै पनि पाप, धर्म वा अन्धविश्वाससँग सम्बन्धित रोग नभएको स्पष्ट पार्दै व्यक्ति, परिवार, समाज, जनप्रतिनिधि लगायत सबै सरोकारवालाले यस रोगसम्बन्धी अन्धविश्वास र लाञ्छनाविरुद्ध बुझेर समुदायमा सचेतना फैलाउन आह्वान समेत गर्नुभयो ।




Milan Shrestha । २४ पुष २०८२, बिहीबार १८:१० बजे