२०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसमा शाक्यले ९०औं र सिंहद्वारा ७०औं पटकको रक्तदान


आज २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस देशका “म रक्तदान गर्छु ।” भन्ने मूल नाराका साथ विभिन्न जिल्लाहरुमा संगठित नेपाल स्वयंसेवी रक्तदाता समाजले विविध कार्यक्रम गरेर मनाउँदैछ । यसैक्रममा सुर्खेतको वीरेन्द्रनगरमा पनि रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजको सुर्खेत शाखाले आज भैरव माध्यमिक विद्यालय वीरेन्द्रनगर ४ भैरवस्थानमा अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीहरु माझ रक्तदाता उत्प्रेरणा कार्यक्रम गरेको हो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य एवं कर्णालीका सर्वाधिक (९०पटक) रक्तदाता प्रवाश कुमार शाक्यले आफूले रक्तदाता गर्ने वेलाको अनुभवहरु सुनाउनु भएको थियो । शाक्यले अहिले यूवापुस्तामा रक्तदानकालागि सचेतना कार्यक्रम निक्कै नै आवश्यक रहेको बताउँदै सम्वन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगतलाई विरामीले निःशुल्क पाउनुपर्ने व्यवस्था गर्न सरकार सँग आफ्नो समाज निरन्तर लागि रहेको बताउनुभयो ।

त्यस्तै सुर्खेत शाखा अध्यक्ष अशोक कुमार सिंह, सचिव पुनम विसी र सदस्य मालती विकले पनि आआफ्नो रक्तदानका अनुभवहरु सुनाउनुभएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका रक्त प्राविधिक विकास गिरीले रगत र रक्ततत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

आज नै समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले दिवसका अवसरमा आफ्नो ९०औं पटकको र जिल्ला अध्यक्ष अशोक कुमार सिंहले ७०औं पटकको रक्तदान गर्नुभयो ।

oplus_0