८ महिनामा २७७ मेगावाट


15112016074220bijuli-1000x0कार्तिक ३०, २०७३- आठ महिनाभित्र मुलुकमा २ सय ७७ मेगावाट बिजुली थपिने भएको छ । स्वदेशी निजी क्षेत्रका २४, विदेशी लगानीको १ र सरकारी दुई आयोजनाबाट त्यति बिजुली थपिन लागेको हो । त्यसपछि मुलुकमा वर्षायाममा लोडसेडिङ नहुने विद्युत् प्राधिकरणका अधिकारीले जानकारी दिएका छन् ।

मुलुकमा हाल कुल विद्युत् उत्पादन क्षमता ५३ दशमलव ४ मेगावाट तापीय (थर्मल) सहित ८ सय ३८ मेगावाट छ । ती २७ आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि आगामी असार मसान्तसम्म मुलुकको केन्द्रीय प्रणालीमा कुल विद्युत् उत्पादन क्षमता ११ सय १५ मेगावाट पुग्ने ऊर्जा मन्त्रालयका अधिकारीले जनाए । आगामी वर्षायाममा मुलुकमा बिजुलीको माग करिब १५ सय मेगावाटको हाराहारीमा पुग्नेछ । प्राधिकरणले हाल भारतबाट ३ सय ३५ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ भने मुलुकको आन्तरिक उत्पादनले आगामी वर्षायाममा बिजुलीको माग करिब–करिब धान्नेछ ।

स्वदेशी निजी क्षेत्रका २४ आयोजनाबाट १ सय ८३, चिनियाँ लगानीको माथिल्लो मस्र्याङ्दी ‘ए’बाट ५०, विद्युत् प्राधिकरणबाट निर्माणाधीन दुई आयोजनाबाट ४४ मेगावाट विद्युत् उत्पादन सुरु भई आगामी असारसम्म केन्द्रीय विद्युत् प्रणालीमा जोडिने छ । स्वदेशी तथा विदेशी लगानीका २५ आयोजनाको कुल लागत ५५ अर्ब रुपैयाँभन्दा बढी रहेको जानकारी स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अधिकारीले दिए । विद्युत् प्राधिकरणद्वारा निर्माण भइरहेका ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आगामी असारअगावै सम्पन्न भई विद्युत् उत्पादन सुरु भइसक्ने छ ।

ठेकेदार कम्पनीको गैरजिम्मेवारीका कारण सन् २०११ मै सम्पन्न हुनुपर्ने यी दुवै आयोजनाको लागत र निर्माण अवधि दोब्बर भइसकेको छ । प्राधिकरणले आगामी मसान्तभित्र जसरी पनि यी दुई आयोजनाको निर्माण सकेर विद्युत् थालिसक्ने कार्ययोजना बनाएर काम गरिरहेको छ । चमेलिया आयोजनाको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको छ । सुरुमा लागत २ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको कुलेखानी तेस्रोको निर्माण अवधि लम्बिएको र ठेकेदारको भेरिएसन मागका कारण लागत ५ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको छ ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनामध्ये चिनियाँ कम्पनी सिनो हाइड्रोको लगानी रहेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी सबभन्दा ठूलो आयोजना हो । उक्त आयोजनाको एउटा युनिटबाट २५ मेगावाट बिजुली उत्पादन सुरु भइसकेको छ भने अर्को युनिटबाट एक महिनाभित्रै थप २५ मेगावाट बिजुली उत्पादन सुरु भइसक्ने जानकारी प्राधिकरणका अधिकारीले दिए । २५ मेगावाटको माथिल्लो मादी र १४ दशमलव ९ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौंदी खोला ए विद्युत् आयोजनाबाट हालै परीक्षण उत्पादन सुरु भइसकेको छ । यी तीनवटै आयोजनाले छिट्टै व्यापारिक उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले उपलब्ध गराएको विवरणअनुसार आगामी असारअगावै सम्पन्न हुने आयोजनामा २२ दशमलव २ मेगावाटको अपर चाकु ए, ५ मेगावाटको फावा खोला, १ मेगावाटको तिनाउ, २ दशमलव ८ मेगावाटको चाके खोला, २ दशमलव ५ मेगावाटको पिखुला खोला, १० मेगावाटको मडु खोला, १ दशमलव ७ मेगावाटको जुम्दी खोला, १ दशमलव ५ मेगावाटको ठेउले खोला, ५ मेगावाटको तादी खोला, ५ मेगावाट अपर मैलुङ ए छन् । त्यसैगरी १२ मेगावाटको अपर खिम्ती, ११ दशमलव २ मेगावाटको थापा खोला, ३ दशमलव २ मेगावाटको गेलुङ खोला, १४ दशमलव ९ मेगावाटको हेवा खोला ए, २ दशमलव ५ मेगावाटको दाराम खोला ए, २२ मेगावाटको अपर दोर्दी ए, ४ मेगावाटको सार्दी खोला, ४ मेगावाटको सभा खोला, ७ दशमलव ६ मेगावाटको जोगमाई, ४ दशमलव २ मेगावाटको लोहोरे खोला, ६ दशमलव ८ मेगावाटको रुडी ए र ३ दशमलव ७ मेगावाटको द्वारी खोलाबाट आगामी असारसम्ममा बिजुली उत्पादन भई केन्द्रीय प्रसारणमा जोडिने जानकारी इपानले दिएको छ ।

साभारः कान्तिपूर अनलाइन