
नेतृत्वमा रहँदा पाइने सेवा-सुविधा वा भत्ता धेरैका लागि व्यक्तिगत आम्दानीको स्रोत बन्ने गर्छ। तर, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका निवर्तमान अध्यक्ष सुशीलराज शर्माले भने आफ्नो कार्यकालभरि प्राप्त भत्तालाई सामाजिक उत्तरदायित्व र पत्रकारिताको संस्थागत विकासमा फर्काउने एउटा अनुकरणीय उदाहरण पेस गर्नुभएको छ । शर्माले आफूले पाएको भत्तामा थप रकम थपेर रु. १ लाखको ‘श्रीमनु पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गर्नुभएको छ । शर्माले आफ्नी छोरी श्रीमनु अधिकारीको पहिलो जन्मोत्सवको विशेष अवसर पारेर बुधबार यस कोषको घोषणा गर्नुभएको हो ।
यो पुरस्कार खासगरी बालबालिकाका विविध विषयमा केन्द्रित रहनेछ शर्माले बताउनुभयो । बालबालिकाको हक-अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण र बालमैत्री वातावरणका पक्षमा निरन्तर कलम चलाउने उत्कृष्ट पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिने बताइएको छ । यो पुरुस्कार प्रत्येक वर्ष साउन १३ गते छोरी श्रीमनुको जन्मदिनको अवसरमा प्रदान गरिने शर्माले बताउनुभो । उहाँ भन्नुहुन्छ “पुरस्कार स्वयं श्रीमनुकै हातबाट प्रदान गरिने छ । भने कोषको दीर्घकालीन संरक्षण, पारदर्शिता र व्यवस्थापन काँक्रेविहार मिडिया प्रा.लि. र पत्रकार शर्माले संयुक्त रूपमा गर्नेछन् ।
स्मरण रहोस् २०८१ को पत्रकार महासंघ सुर्खेत शाखाको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनको बलियो चुनावी गठबन्धनविरुद्ध शर्माले कडा प्रतिस्पर्धा गर्दै बराबर मत ल्याउनुभएको थियो । त्यसपछिको कानूनी प्रक्रियामार्फत शर्मा पहिलो कार्यकालका लागि अध्यक्ष बन्नुभएको थियो । करिब डेढ वर्ष अध्यक्ष रहँदा प्राप्त भत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगरी पत्रकारिता क्षेत्रमै लगानी गर्ने शर्माले बताउनुभयो ।



Prawash Kumar Shakya । १४ श्रावण २०८३, बिहीबार १२:०५ बजे