कर्णाली विशेषज्ञ पोलिक्लिनिक आजदेखि सञ्चालनमा


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहितको काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकको पश्चिम तर्फ (जुम्लारोड) करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको पोलिक्लिनिकले कर्णालीवासीलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

पोलिक्लिनिककी सञ्चालक तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिका थापा श्रेष्ठका अनुसार कर्णालीका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन अन्य ठूला शहरमा जानुपर्ने बाध्यतालाई कम गर्ने उद्देश्यले पोलिक्लिनिक सञ्चालनमा ल्याइएको हो ।

काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिकमा हाडजोर्नी तथा नसा रोग, बालरोग, स्त्री तथा प्रसूति रोग, जनरल फिजिसियन, जनरल सर्जन, जनरल सर्जरी तथा रेडियोलोजी लगायतका विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिनेछ ।

विशेषज्ञ चिकित्सकको परामर्शसँगै आवश्यक स्वास्थ्य परीक्षण तथा रोग पहिचानका लागि डाइग्नोस्टिक सेवासमेत उपलब्ध हुने भएकाले बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा धाउनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।

डा. कृतिकाले कर्णालीमा स्वास्थ्य सेवाको आवश्यकता बढ्दै गएको अवस्थामा गुणस्तरीय र विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले पोलिक्लिनिकमा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको बताउनुभयो ।

“कर्णालीका नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिनकै लागि बाहिर जानुपर्ने अवस्थालाई कम गर्दै स्थानीयस्तरमै सहज र गुणस्तरीय सेवा दिने हाम्रो उद्देश्य हो,” सञ्चालक डा. कृतिकाले भन्नुभयो ।

पोलिक्लिनिकले आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्दै सुलभ, भरपर्दो र गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।