एनसेलले मोबाइल फाइनान्सियल सर्भिसहरु प्रदान गर्ने


New brand logo of Ncell - an Axiata company.

काठमाडौं—एनसेलले आफ्नो सेवा प्रदान गर्ने क्षेत्रको दायरा बढाउँदै मोबाइल फाइनान्सियल सर्भिसहरु पनि ल्याउने बताएको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले कम्पनीको नयाँ लोगो अनावरण गर्दै मंगलबार एक कार्यक्रममाझ उक्त कुरा बताएका हुन् । ्

नेपाल राष्ट्र बैकले केही समय अगाडी मोबाईल फाईनान्सियल सर्भिसहरु ग्राहकलाई प्रदान गर्नका लागि छुट्टै काननी व्यबस्थाको नीति ल्याएको थियो । सरकारले यो नीति लिए पश्चात एनसेलले पनि यी सेवाहरु दिने बताएको हो ।

सरकारको सो नीति अनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरुले पनि मोबाइलबाटै वित्तिय कारोबार हुने गरी मोबाइल पेमेन्ट सेवाहरु प्रदान गर्न सक्छन् । ‘हामी राष्ट्र बैंकले ल्याएको नीति अनुरुप मोबाईल फाइनान्सियल सर्भिसहरु दिन चाहान्छौं,’ पर्किन्सले भने ।

‘देशभित्र र बाहिर फण्ड ट्रान्सफर गर्न, आफ्नो बिलहरु मोबाईलबाटै तिर्न र अन्य आर्थिक कारोबारहरु जहाँ कहीबाट पनि सजिलै गर्न सकिने खालका सेवाहरु दिन चाहान्छौँ,’ एनसेलको योजनाको बारेमा थप प्रकाश पार्दै पर्किन्सले भने । मोबाइल प्रयोगकर्ताको संख्यामा वृद्धिसँगै यसबाट गर्न सकिने वित्तिय तथा आर्थिक कारोबारका सेवाहरुको मागमा पनि वृद्धि भइरहेको छ ।

अहिले करिव १ करोड ४० लाख ग्राहकले एनसेलको मोबाइल सेवा प्रयोग गरी रहेका छन् । राष्ट्र बैंकको नीति अनुसार, यस्तो प्रकारको मोबाईलबाटै वित्तिय कारोबार गर्नका लागि टेलिकम कम्पनीले आफ्नो सब्सिडायरी कम्पनी खोलेर राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार अहिलेको मोबाइल प्रविधिको युगमा बैंकिङ्ग सेवा पुग्न नसेको देशका ग्रामिण तथा दुर्गम जनताहरुलाई ब्रान्चलेस बैंकिङ्ग सेवाको अवधारणा अनुरुप यस्तो मोबाइल फाईनान्सियल सर्भिसले धेरै फाइदा पु¥याउने छ । मोबाइल फाइनान्सियल सर्भिसहरुमा मोबाइलबाटै भुक्तानी, ऋण दिने वा लिने, पैसा निकाल्ने वा तिर्ने, कसैलाई पैसा उठाउने वा पठाएको पैसा लिने लगायत थुप्रै प्रकारका वित्तिय तथा आर्थिक कारोबारहरु पर्दछन् ।

खासगरी हिमाल तथा पहाडमा रहेको ठूलो जनसंख्यामा बैंकिङ्ग सेवा अझै पुग्न सकेको छैन । साथै, तराईका भित्री ग्रामीण क्षेत्रका मानिसहरुमा पनि सहज बैंकिङ्ग सेवाको अभाव छ । प्रविधिको विकाससँगै भित्रिएको मोबाइल बैंकिङ्गप्रति उपभोक्ताको बढ्दो आकर्षणले पनि जनता नवीन प्रविधिमा आधारित सेवाहरुबाट फाइदा लिन चाहन्छन् भन्ने स्पष्ट छ । राष्ट्र बैंकको वैशाख २०७३ सम्मको तथ्याङ्कअनुसार अहिले देशमा विभिन्न बैंक तथा वित्तिय संस्थामा गरी १ करोड ६१ लाख ओटा बचत खाताहरु छन् र तिनीहरु मध्ये १५ लाखले मोबाइल बैंकिङ्ग सेवाबाट फाइदा लिइरहेका छन् ।

त्यसैगरी इन्टरनेट बैंकिङ्ग सेवाको प्रयोग गर्ने उपभोक्ताको संख्या झण्डै ५ लाखको हाराहारीमा रहेको छ । यसैबीच उक्त नयाँ लोगो अनावरण कार्यक्रममा बोल्दै आजीयाटा ग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले डिजिटल क्रान्ति हुँदै गरेको अवस्थामा आफूहरु नेपालमा लगानी गरेर आउन पाउँदा धेरै उत्साहित भएको बताए । ‘आजीयाटा दीर्घकालीन लगानीकर्ता हो र एसियाको विकासमा साथ दिने एक बलियो साथी पनि,’ उनले भने ।
एसियाकै एक ठूलो टेलिकम कम्पनीका रुपमा परिचित आजीयाटाले नेपाललगायत विभिन्न दश देशमा टेलिकम क्षेत्रमा लगानी गरेको छ । यो कम्पनीले एनसेलमा ८० प्रतिशत स्वामित्व वहन गर्ने वेस्ट इन्डिजमा रहेको रेनोल्ड्स होल्डिङको शत प्रतिशत शेयर गत चैत्रमा किनेको थियो ।

साभारः नेपालीपत्र अनलाइन