‘म्याच-फिक्सिङकै कारण नेपाली फुटबल खस्किएको रहेछ’


मान्छे कि खुसीमा रुन्छ कि दुःखमा।
नेपाली फुटबलका ‘लिजेन्ड’ हरि खड्का पछिल्लो पाँच महिनामा तीनचोटि रोए।
पहिलोपटक असोज २७ गते, जतिबेला राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडी ‘म्याच–फिक्सिङ’ को आरोपमा पक्राउ परे। लाखौं समर्थकले मनमा बसाएका ‘स्टार’ हरूमाथि ‘धोकेबाजी’ को संगीन आरोप लाग्दा र नेपाली फुटबलको अस्तित्व नै समाप्त भएको प्रतिक्रिया सुन्नुपर्दा आफ्नो जीवनै खेलमा समर्पण गरेका हरिको भक्कानो छुटेको थियो।
दोस्रोपटक उनी रोए माघ ८ गते, जतिबेला नेपालले बंगलादेशको बंगबन्धु रंगशालामा बहराइनलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकप जित्यो। २३ वर्षदेखि अन्तर्राष्ट्रिय उपाधिविहीन भएको र गोलको खडेरीले फुटबलप्रति नै नैराश्य छाएका बेला नेपाली टोलीले हासिल गरेको यो सफलताले हरिका आँखा रसाएका थिए।
र, तेस्रोपटक रोए, फागुन ३ गते, जतिबेला नेपालले भारतलाई २–१ को अन्तरले हराउँदै दक्षिण एसियाली (साग) फुटबलमा स्वर्ण पदक हात पार्यो। दक्षिण एसियाकै चिरप्रतिद्वन्द्वी भारतलाई उसकै घरेलु मैदानमा नमिठो हार चखाइदिँदा हरिका आँखाबाट बर्ररै आँशु झरे।
‘हरेक चिजको समय आउँछ, नेपाली फुटबलको पनि सुनौलो समय आएको छ,’ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान खड्काले नेपालको पछिल्लो जितबारे प्रतिक्रिया दिँदै मंगलबार सेतोपाटीसँग भने, ‘हाम्रा खेलाडीले नेपाली फुटबलमा लागेको कालो धब्बालाई भुलाउने गरी नयाँ युगको बहार ल्याइदिएका छन्।’
एउटा भनाइ छ, सफलताले सफलता पछ्याउँछ। पराजित मानसिकताले घेरिएका बेला मान्छेको मनोबल यति खस्किएको हुन्छ, उसले लगातार पराजयकै सामना गरिरहन्छ। कुनै दिन जब त्यो मानसिकता तोडेर मान्छेले जितको खुसी चुम्छ, उसको मनोबल यति बढ्छ, उसका लागि जित सहज हुँदै जान्छ।
नेपाली फुटबल टोलीले यही भनाइ सार्थक पारेको खड्काको भनाइ छ।
उनी यसलाई फुटबलमा ‘स्वर्णिम’ युगको सुरुआत मान्छन्, जसलाई ‘म्याच फिक्सिङ’ प्रकरणले ग्रहण लगाइदिएको थियो। त्यतिबेला धेरैले भनेका थिए, फुटबलमा भएको लगानी बालुवामा पानी हालेजस्तो खेर गयो। अब यो क्षेत्र उँभो लाग्न गाह्रो छ।
हरिलाई भने त्यस्तो कहिल्यै लागेन।
‘हरेक मान्छेको जिन्दगीमा कहिले न कहिले कठिन क्षण त आइहाल्छ, त्यो नेपाली फुटबलको निम्ति त्यस्तै क्षण थियो,’ उनले भने, ‘मलाई खुसी यसमा छ, हाम्रा खेलाडीले त्यही अपमानको इख लिएर खेले र यति कम समयमै फेरि नेपाली जनताको मन जित्न सफल भए।’
हुन पनि ‘म्याच–फिक्सिङ’ प्रकरणसँगै पूर्वकप्तान सागर थापा, सन्दिप राई र गोलकिपर रितेश थापाको बहिगर्मनपछि टिममा सामेल युवा खेलाडीलाई खेलको पासा पल्टाउनु सजिलो थिएन। त्योभन्दा गाह्रो त खेलाडीप्रति सर्वसाधारणको मनमा कोरिएको कालो दाग पखाल्नु थियो।
यसपालिको टिम ती दुवै परीक्षामा खरो उत्रियो। सँगसँगै एउटा प्रश्न पनि खडा गर्यो, कतै नेपाली फुटबल म्याच–फिक्सिङकै कारण खस्किएको त थिएन ?
खड्का केही हदसम्म सहमत छन्।
बंगबन्धु गोल्डकपबाट सुरु भएको सफलता यात्राले १२ औं सागसम्म निरन्तरता पाउनु र यसबीच नेपाली टिमको खेल अझ निखारिनुले नै अघिल्ला खेलहरू ‘म्याच–फिक्सिङ’ भन्न सकिने उनी बताउँछन्।
‘फुटबल टिम गेम हो, टिम स्पिरिट बिग्रयो भने खेल जित्न सकिँदैन, महत्वपूर्ण खेलाडी नै मिलेमतोमा लागेपछि खेल राम्रो नहुनु स्वाभाविक हो,’ उनले भने, ‘एक महिनाकै अन्तरालमा पाएको दोस्रो अन्तर्राष्ट्रिय सफलताबाट हामी अब प्रस्ट भन्न सक्छौं, मिलेमतोकै कारण नेपालको फुटबल खस्किएको रहेछ।’
अहिलेका युवा खेलाडीमा गतिलो ‘टिम स्पिरिट’ देखिएको उनले बताए। खासगरी १२ औं साग फुटबलमा दुई ह्याट्रिकसहित ७ गोल गरेका नवयुग श्रेष्ठलाई त ‘स्ट्राइकर’ मात्र नभई ‘गोल स्कोरर’ नै भन्न रुचाउँछन् उनी।
‘नवयुग आफूले पाएका अवसरलाई सही समयमा निर्णय गरेर पोस्टको दिशा दिन माहिर देखिएका छन्,’ उनले भने, ‘अरू खेलाडीमा पनि अवसर छोप्ने खुबी राम्रो देखिएको छ, डि–एरियाभित्र पसेपछि बल सम्हालेर फिनिसिङ गर्न सक्दैन भन्ने जुन आरोप नेपाली टोलीमाथि थियो, त्यो यसपालि हटेको छ।’
डि–एरियाभित्रको त्यही फिनिसिङका कारण सोमबार सागमा पाएको सफलताले म्याच–फिक्सिङ गर्ने खेलाडीमाथि प्रश्नचिह्न खडा गरेको उनले टिप्पणी गरे। ‘म्याच–फिक्सिङको त्यो कालो दिन म सम्झन पनि चाहन्न, यो टिमले नेपाली फुटबलमा कालो दिन अन्त्य गरेर सुवर्ण दिनको सुरुआत गरेको छ,’ उनले भने।
नेपाली फुटबलका पूर्वप्रशिक्षक बालगोपाल महर्जन पनि हरिको भनाइसँग सहमत छन्।
अहिलेको लगातार जितको मुख्य कारण उनी खेलाडीहरूको अनुशासनलाई मान्छन्। ‘कुनै पनि खेलमा अनुशासन नै सफलता प्राप्त गर्ने गतिलो माध्यम हो, विगतको टोलीमा रहेका सिनियर खेलाडीमा यस्तो गुण थिएन,’ उनले भने, ‘कसैले पनि एक्लै खेलेर उपाधि जित्न सक्दैन, यो टिमवर्क हो।’
कुनै एक जनाले मात्र आर्थिक प्रलोभनमा परेर ‘टिम स्पिरिट’ बिगार्यो भने त्यसले सिंगो टोलीको प्रदर्शनमै नराम्रो असर पार्ने टिप्पणी गर्दै उनले भने, ‘नेपाली टोलीमा त्यही समस्या थियो। अहिलेका युवा खेलाडीहरू यसमा सिनियरभन्दा राम्रा देखिएका छन्।’
विगतमा विदेशी प्रशिक्षकहरूले खेलाडीलाई क्षमताअनुसार पोजिसनमा नखेलाउँदा पनि फुटबलमा परिवर्तन आउन नसकेको उनले बताए। नेपाली फुटबल नयाँ युगमा प्रवेश गरेको र यसलाई बचाइराख्नु सबैको कर्तव्य भएको उनको भनाइ छ।
‘यो टोलीमा नवयुग श्रेष्ठ, विमल घर्तीमगर, प्रकाश बुढाथोकी, अञ्जन विष्ट लगायतको प्रदर्शन धेरै राम्रो छ, उनीहरूले अझै नेपाललाई ठूलो सफलता दिलाउन सक्छन्,’ उनले भने, ‘उनीहरूको मनोबल दिगो राख्ने जिम्मा सरकारको पनि हो।’
पूर्वकप्तान उपेन्द्रमान सिंह पनि बंगबन्धु र साग फुटबलमा नेपालले हात पारेको जित ‘म्याच–फिक्सिङ’ बाट निराश खेल जगतलाई गतिलो ढाडस भएको बताउँछन्।
‘यो नेपाली फुटबलकै निम्ति नयाँ टर्निङ प्वाइन्ट हो,’ बंगबन्धु गोल्डकप जित्दा गोलकिपरका प्रशिक्षक रहेका सिंहले भने, ‘लगातार दोस्रो अन्तर्राष्ट्रिय सफलताले फुटबलप्रेमीहरूलाई फेरि एकचोटि एकताबद्ध बनाएको छ। यसले के पनि प्रमाणित गरेको छ भने यसअघि नेपाली फुटबलको स्तर म्याच–फिक्सिङकै कारण खस्केको रहेछ।’
अनेक विवाद र समस्याबीच नेपाली फुटबलमा नयाँ अध्याय सुरु भएकाले यसलाई निरन्तरता दिन सबैले मलजल गर्नुपर्ने उनको भनाइ छ। ‘जग बलियो भए मात्र घर बलियो हुन्छ, नेपाली फुटबलको जग बलियो बनाउन हामीले खेलाडी उत्पादनमा ध्यान दिने बेला आएको छ। देशका लागि खेल्नुपर्छ भन्ने भावना आए मात्र जित सम्भव हुन्छ,’ उनले भने।
नेपाली फुटबल सर्वाधिक उत्कृष्ट फर्ममा रहेका बेला घरेलु मैदानमा कुनै प्रतियोगिता नहुनु विडम्बनापूर्ण भएको बताउँदै उनले भने, ‘हामीले सबैभन्दा खेलाडीको फर्मलाई ध्यान दिनुपर्छ, उनीहरू अहिले उत्कृष्ट फर्ममा छन् तर हामीसँग कुनै राष्ट्रिय लिग छैन। यस्तो अवस्थामा खेलाडी खाली भए फेरि यो फर्म बिग्रिन सक्छ।’ अखिल नेपाल फुटबल महासंघ (एन्फा) लाई यसबारे सोचेर खेलाडीको यो फर्मलाई अझ बढाउनेतर्फ कार्यक्रम ल्याउन उनले आग्रह गरे।
खेल पत्रकार प्रकाश तिमिल्सिना भने टिमको अनुभव र उच्च मनोबलका कारण उपाधि हात परेको बताउँछन्। म्याच–फिक्सिङपछि नेपाली फुटबलले मारेको फड्कोले फुटबलप्रेमीलाई एकपटक फेरि खुसी तुल्याएको उनको भनाइ छ। 
‘यो टोली युथ टिममा नयाँ भए पनि अनुभव धेरै भएका खेलाडी हुन्, अन्डर–एजका खेल खेल्दै आएका थिए,’ उनले भने, ‘अहिले पनि एकअर्कालाई सपोर्ट गरेर खेलिरहेका छन्।’
नेपाललाई फापेका स्वदेशी प्रशिक्षक
एन्फाले पटक–पटक नेपाली फुटबल टोलीको प्रशिक्षणका लागि भन्दै विदेशबाट महँगो पारिश्रमिक दिएर प्रशिक्षक भित्र्याउँदै आएको छ। तर विदेशी प्रशिक्षकको नेतृत्वमा खेलेका अन्तर्राष्ट्रिय खेलमा उपाधि हात पार्न अहिलेसम्म सकेको छैन। विदेशी प्रशिक्षकको नेतृत्वमा खास उपलब्धी हासिल गर्न नसकेको नेपाललाई स्वदेशी प्रशिक्षक नै फापेको छ। 
फुटबल इतिहास केलाएर हेर्ने हो भने सन् १९८४ मा नेपालले फुटबलमा स्वर्ण जित्दा विदेशी प्रशिक्षक थिएनन्। त्यतिबेला नेपाली टोलीका प्रशिक्षक केदार श्रेष्ठ।
त्यसपछि सन् १९९३ मा नेपालले दोस्रोपटक साग फुटबलमा स्वर्ण पदक जित्दा प्रमुख प्रशिक्षक धनबहादुर बस्नेत र सहायक प्रशिक्षक महेश्वर मुल्मी थिए। उनीहरूले नै झन्डै ९ वर्षपछि नेपाललाई छैठौं सागमा स्वर्ण जिताएका थिए। अघिल्लो महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकप जितेर २३ वर्षदेखि उपाधिविहीन भएको नेपाली फुटबल टोलीको खडेरी समाप्त गरेको थियो। त्यसबेला नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन थिए।
१९९३ को साग फुटबलमा स्वर्ण जितेको नेपालले २३ वर्षपछि सोमबार तेस्रोपटक स्वर्ण हात पर्दा नेपाली प्रशिक्षक राजुकाजी शाक्य छन्। आफूहरूले दिने प्रशिक्षणभन्दा कुनै फरक खालको प्रशिक्षण विदेशी प्रशिक्षकले अहिलेसम दिएको थाहा नपाएको प्रशिक्षकहरू बलगोपाल महर्जन र उपेन्द्रमान सिंह बताउँछन्।
विदेशी प्रशिक्षक ल्याउनु आपत्तिजनक नभए पनि नेपाली फुटबल टोलीले कतिबेला कसको नेतृत्वमा सफलता हात पारेको छ भन्ने महत्वपूर्ण भएको उनको भनाइ छ। ‘नेपालजस्तो गरिब र सानो देशले उपल्लोस्तरका प्रशिक्षक ल्याउन सक्दैन,’ उनले भने, ‘त्यसैले विदेशबाट प्रशिक्षक ल्याउनुभन्दा यहीँ भएका नेपाली प्रशिक्षककै क्षमता अभिवृद्धिमा जोड दिनुपर्छ।’
खेल पत्रकार प्रकाश तिमिल्सिनाले पनि विदेशी प्रशिक्षकभन्दा नेपाली प्रशिक्षकमै जोड दिनुपर्ने बताउँछन्। ‘विदेशी प्रशिक्षक ल्याउनै हुन्न भन्ने होइन। तर विदेशीभन्दा स्वदेशमै रहेका प्रशिक्षकलाई जिम्मा दिँदा हुन्छ,’ उनले भने, ‘यसका लागि उनीहरूको क्षमता अभिवृद्धि गराउनुका साथै ए–लेभलका कोचिङ कोर्स दिलाउनुपर्छ।’ विदेशी प्रशिक्षक ल्याउँदैमा नेपाली फुटबल क्षेत्रमा आकाश–जमिनको फरक पर्छ भन्ने मान्यताबाट टाढा रहनुपर्ने उनले बताए। 
साभारः सेतोपाटी