घरआगनमै पानी पुगेपछि जनता फुरुङ्ग


20160827_091456सुर्खेत, ११ भदौ । राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपीले वर्षौदेखि खानेपानीको समस्यासगँ जुध्दै आएका सुर्खेतको लेखगाउँ र गढी गाविसमा खानेपानी आयोजना निर्माण गरिदिएको छ । खानेपानी आयोजना निर्माणपछि वर्षेदेखि खानेपानीको चर्को समस्या झेल्दै आएका गढी र लेखगाउँवासी खुशीले गद्गद भएका छन । लेखगाँउमा ३३ लाख ९७ हजार र गढीमा २३ लाख ३ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएपछि स्थानीय खानेपानीको समस्यावाट मुक्त भएका छन । घरआगनमै चौवीसै घण्टा खानेपानीको सुविधा पाएपछि आफुहरुको वर्षेदेखिको सपना पुरा भएको उनीहरुले वताएका छन ।

खानेपानीको सुविधा नहुदा वर्षेदेखि डेढघण्टा तलवाट पानी वोकेर खान वाध्य थियौ, पानी भर्नलाई पनि पालो कुरेर बस्नु पर्ने अवस्था थियो, सवैजसो समय पानी बोक्नमै बित्यो अब दुखका ति दिनहरु गए स्थानीय सुनिता लामिछानेले भन्नुभयो । लेखगाउँ नागरिक मञ्चकी अध्यक्ष समेत रहनु भएकी उहाँले घर आगनमा खानेपानी पुगेपछि विषेशगरी महिलाहरुलाई निकै सुविधा भएको बताउनुभयो । पानीको सुविधासगै समयको बचत भएको र शुद्ध पानी खान पाएको पनि लामिछानेले उल्लेख गर्नुभयो । ९३ मटिर तलवाट पानी तानेर लेखगाउँमा खानेपानी वितरण गरिएको छ । लिफ्टवाट पानी तानेर ९५ घरपारिवारलाई खानेपानीको सुविधा पुरयाएको युएनडिपीले जनाएको छ । लिफ्टवाट तानिएको पानीलाई ४ लाख लिटरका क्षमताका टंकीहरुमा जम्मा गरेर व्यवस्था मिलाइएको युएनडिपीका बरिष्ठ कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो ।

उहाँले पानी तानेर ल्याएको मुहान बस्तीभन्दा सिधै ९३ मिटर र धुमाएर ल्याउदा ७ सय ५० मिटर तल रहेको बताउनु भयो । लेखगाउँको गाविस, उच्च माध्यामिक विद्यालय, स्वास्थ्य चौकी र बजारवस्तीलाई एक÷एक वटा धाराहरु दिइएको जानकारी दिनुभयो । ३३ लाख रुपैया खर्च भएको खानेपानी आयोजना निर्माणको लागि युएनडिपीले १९ लाख ९५ हजार रुपैया सहयोग गरेको छ । आयोजना निर्माणमा स्थानीयले १३ लाख २ हजार र अन्य निकायको १ लाख रुपैया खर्च गरेका थिए । यस्तै युएनडिपीकै सहयोगमा २३ लाख रुपैयाको लागतमा गढी गाविसमा पनि खानेपानी आयोजना निर्माण भएको छ ।
४५ वर्षदेखि निर्माण हुन नसकेको खानेपानी आयोजना वल्ल निर्माण भएको स्थानीयले बताएका छन । १२ किलोमिटर उत्तरमा रहेको चन्दने खोलाको मुहानवाट गढीमा खानेपानी ल्याएको छ । बयलकाँडामा वनाइएका तीनवटा टंकीमा पानी जम्मा गरेर २ सय ९४ घरधुरीलाई खानेपानीको सुविधा पुरयाइएको छ । वर्षोसम्म खानेपानीको समस्या भोगेका गढीवासीले खानेपानीको लागि गाविस, जिविस हुदै विभिन्न संघसंस्थाको दैलो धाएपनि कतैवाट सहयोग नपाएको गुनासो गरेका छन । उनीहरुले अहिले युएनडीपीले घरघरमै खानेपानीको पुरयाएपछि आफुहरुलाई भगवानै आए जस्तो लागेको उल्लेख गरेका छन ।

घर आगनमै खानेपानीको सुविधा भएपछि अहिले गढी र लेखगाउँको मुहार नै फेरिएको छ । एक ग्रागी पानीको लागि रातभर पालो कुरेर वस्नु पर्ने अवस्थाको अन्त्य भएको स्थानीय भविन्द सिहले वताउनु भयो ।
निमाण भएका खानेपानी आयोजनाहरुको अनुगमन गर्न जानु भएका युएनडिपीका सहायक राष्ट्रिय निर्देशक बिजय सिँहले जलवायुजन्य जोखिम व्यवस्थापन तथा जिविकोपार्जन सुधार परियोजना अन्तर्गत खानेपानी आयोजनाहरु निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले वर्षैदेखि खानेपानीको असुविधा हुदै आएको गाउँमा खानेपानीको सुविधा पुरयाउन पाउदा निकै खुशी लागको वताउनु भयो । उहाँले गढी र लेखगाउँका दुवै खानेपानी आयोजनाहरु नमुना प्रोजेक्टको रुपमा रहेको समेत उल्लेख गर्नुभयो । यस्तै सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले असम्भव जस्तै कामलाई सम्भव वनाएर देखाएको भन्दै युएनडिपीको प्रशंसा गर्नु भयो । जिल्लाकै नुमना आयोजनाको रुपमा युसलाई लिइने उल्लेख गदै उहाँँले गढी र लेखगाउँ जोडने सडकको स्तरउन्नति गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

लेखगाउँमा खानेपानीको टंकी वनाउने लागि बिनीसरा लामिछाने र गढीमा टंकीहरु वनाउनको लागि टीका गौतमले निशुल्क जग्गा प्रदान गर्नु भएको छ । निशुल्क जग्गा प्रदान गर्ने दुवै जनाले समुदायको विकास र भलाईको लागि निशुल्क रुपमा जग्गा दिएको वताउनु भयो । निशुल्क जग्गा दिने लामिछाने र गौतम दुवै जनालाई सवैले मुक्त कन्ठले प्रशंसा समेत गरेका छन ।

साभारः राराखबर अनलाइन