तुलसीपुर (दाङ), भदौ १५ गते । जिल्लाको बिजौरी–९ छिल्लीकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान विस्फोटक पदार्थ डिटोनेटरसहित मङ्गलबार दाङमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले दिनुभएको जानकारीअनुसार पुनले घरमा अवैध विस्फोटक पदार्थ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा निजलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको हो । पक्राउ परेका पुनलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रहरी प्रमुख सिंहले बताउनु भयो ।
यसैबीच, हतियार देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा छिल्लीकोटकै ३३ वर्षीय धनबहादुर पुनलाई मङ्गलबार प्रहरीले लमहीबाट पक्राउ गरेको छ । गत असार ८ गते जबर्जस्ती करणी गरी कतै भनेमा ज्यान नै मार्ने धम्की दिएर फरार रहेका धनबहादुरलाई लमहीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सिंहले बताउनुभयो ।
पक्राउपछि हतियारबारे नीजलाई सोधखोज गर्दा सोही ठाउँका २२ वर्षीय कमल ओलीलाई राख्न दिएको भन्ने बयान दिएपछि मङ्गलबार नै प्रहरीले एक थान कटुवा पेस्तोल, एक राउन्ड गोलीसहित कमल र अन्य एक व्यक्तिलाई पनि पक्राउ गरेको सिंहले बताउनुभयो ।
साभारः गोरखपत्र अनलाइन



Prawash Kumar Shakya । १५ भाद्र २०७३, बुधबार ०२:५० बजे