सुर्खेतको पुनर्संरचना, यस्तो बन्दै छ सुर्खेत


model_press-copyदीपक बुढा
सुर्खेत, २० भदौं । २०६८ सालको जनगणना अनुसार सिमाङ्कन आयोगले तोकेको मापदण्डका आधारमा विभाजनको प्रस्ताव गरिएको हो । यही भदौं १५ गतेभित्र केन्द्र, नामकरण र वडा विभाजनका विषयमा गाविस र नगरपालिकामा छलफल गरी सुझाव पठाउन निर्देशन दिएको थियो । सिमाङ्कन आयोगले तोकेको मापदण्डभित्र रही जिल्ला प्राविधिक समितिले अन्तिम तयारी गरेको छ । जिल्ला स्तरको छलफल, गाविस÷नगरपालिकाको छलफल गरी नामकरण, केन्द्र र वडा विभाजनको अन्तिम टुङ्गो लगाउन थालेको हो । आयोगले जिल्ला प्राविधिक समितिको कार्यअवधि केही समय थप गरी तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको छ तर कति समय थप्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन । सुर्खेत जिल्लामा पर्ने ८ वटा स्थानीय निकायको नामाकरणको विषयमा करिव सर्वसम्मत टुङ्गिएको छ । तर केही निकायको नाम पहिलेको भन्दा फरक बनाएर सुझाव पठाउनुपर्ने आवाज समेत उठेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको नाम सुर्खेत उपत्यका वा काँक्रेविहार नगरपालिका राख्ने भन्ने विषयमा मतभिन्नता देखिएको छ । नगर परिषदबाट पहिले नै निर्णय गरेर नगरपालिकाको नाम सुर्खेत नगरपालिका राख्ने निर्णय स्थानीय विकास मन्त्रालयमा पठाईसकिएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले नामकरणको विषयमा समेत सुझाव माग्न निर्देशन दिएपछि वीरेन्द्रनगर नगरपालिकाको नाम समेत काँक्रेविहार नगरपालिका बनाउनुपर्ने सुझाव दिइएको छ । पूर्व नागरिक उड्डयन मन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य यामलाल कँडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत वीरेन्द्रनगर नगरपालिकाको नाम काँक्रेविहार नगरपालिका प्रस्ताव गर्नुपर्ने सुझाव दिएका छन् ।

नामकै विषयमा विवाद भन्दा पनि पहिलेको भन्दा परिवर्तन गरेर सिफारिस गर्नुपर्ने पूर्वको शुभाघाट गंगामाला नगरपालिकाको पनि रहेको छ । उक्त नगरपालिकामा मालारानी र सहारे गाविसलाई समेत समेट्ने प्रस्ताव गरेपछि नाम परिवर्तन गरी सल्यान र सुर्खेतको सिमानामा पर्ने ऐतिहाँसिक धार्मिक स्थल गुर्भाकोटको नामबाट नगरपालिकाको नामाकरण गुर्भाकोट गर्न सिफारिस गर्नुपर्ने सुझाव आएको छ । एमाले जिल्ला अध्यक्ष धु्रवकुमार शाहीले सुर्खेत र सल्यानको सिमानामा पर्ने ऐतिहाँसिक महत्वको स्थल गुर्भाकोट भएकाले त्यसैको नामबाट नगरपालिकाको नामाकरण गर्दा सबैको अपनत्व हुने बताए । गुर्भाकोट नगरपालिका राख्ने गरी सर्वसम्मत निर्णय भएको छ ।

दुई वटा नगरपालिकाको नामका विषयमा केही सुझाव आएपनि विवाद भने देखिएको छैन । दुइ वटा नगरपालिकाको नाम पुरानो अनुसार नै गराउने वा नयाँ प्रस्ताव गरेर पठाउने भन्नेमा सामान्य छलफल भएको जनाइएको छ । सुझावका रुपमा केही नामहरु आउनु स्वभाविक भएको स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । जिल्लाका अन्य ६ वटा गाउँपालिका र नगरपालिकाको नामकरणको विषयमा भने सर्वसम्मत निर्णय भएर जिल्ला प्राविधिक समितिमा सिफारिस गरिएको छ ।

चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराह गाउँपालिका, वीरेन्द्रनगर नरपालिका, चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिका नामकरण गर्ने गरी अन्तिम टुङ्गो लगाइएको छ । गाउँपालिका र नगरपालिकाको वडा विभाजन समेत सर्वसम्मत भएको छ ।

केन्द्रका विषयमा केही स्थानमा विवाद उत्पन्न भएपछि दुई वटा स्थान मध्ये कुनै एक बनाउने भन्दै सर्वदलिय, सर्वपक्षिय निर्णय भएर जिल्ला प्राविधिक सहयोग समितिमा आई पुगेको छ । चौकुने गाउँपालिकाको केन्द्र विजौरा वा गुटु मध्ये एक, पञ्चपुरी नगरपालिकाको केन्द्र सालकोट र बावियाचौरको विचमा पर्ने बावियाचौर–५ मा राख्ने सर्वसम्मत निर्णय भएको छ ।

बराह गाउँपालिकाको केन्द्र बजेडिचौर बजार वा ओदानताल मध्ये कुनै एक हुनुपर्ने, वीरेन्द्रनगर नगरपालिकाको केन्द्र हालकै स्थान, भेरीगंगा नगरपालिकाको केन्द्र रामघाट र छिन्चुको विचमा पर्ने राताचौर, गुर्भाकोट नगरपालिकाको केन्द्र हालकै दहचौर–६ मा राख्ने सर्वसम्मत निर्णय भएको छ । चिङ्गाड गाउँपालिकाको केन्द्र अवलचिङ वा पाम्का–७ को पुर्णे र सिम्ता गाउँपालिकाको केन्द्र बजेडीचौर–७ पातीहाल्ना, बजेडीचौर ३ र ४ को आली वा राकम–३ को जामुनेबजार मध्ये कुनै एक हुनुपर्ने सुझाव सहित निर्णय भएको छ ।

१.चौकुने गाउँपालिका

जिल्लाको सुदुरपश्चिममा पर्ने अछाम, डोटी र कैलाली जिल्लासंग सिमाना जोडिएका पाँच गाउँ विकास समितिलाई जोडर चौकुने गाउँपालिका निर्माण गर्ने स्थानीय तहमा सर्वसम्मत निर्णय भएको छ ।

लगाम, बेतान, विजौरा, घाटगाउँ र गुटुको सर्वदलिय, सर्वपक्षिय संयुक्त भेलाले चौकुने गाउँपालिका नामाकरण गर्ने सर्वसम्मत निर्णय गरेको हो । जिल्ला प्राविधिक सहयोग समितिले सहजिकरण गरेको भेलामा नामकरणको विषय सर्वसम्मत टुङ्गीएको छ । गाउँपालिकाको सदरमुकाम कहाँ बनाउने भन्ने विषयमा दुई वटा स्थान प्रस्ताव गरिएको छ । विजौरा वा गुटुमा केन्द्र बनाउनु पर्ने दुई वटा दावी प्रस्तुत भएका छन् । जिल्ला प्राविधिक समितिले त्यसको अन्तिम निर्णय गरी केन्द्रमा पठाउने छ । उक्त प्रस्तावित गाउँपालिकामा २५ हजार २ सय ४० जनसंख्या रहेको छ । सरकारी भौतिक संरचना, सबैको पायक पर्ने भएकाले विजौरालाई नै केन्द्र तोक्दा उपयुक्त हुने देखिन्छ ।

२. पञ्चपुरी नगरपालिका

पाँच वटा गाउँ विकास समिति र एक वडा वडा मिलाएर पञ्चपुरी नगरपालिका गठन गर्ने सर्वसम्मत प्रस्ताव गरिएको छ । साल्कोट, बावियाचौर, छाप्रे, विद्यापुर, तातापानी सिंगो गाविस र घाटगाउँ गाविस वडा नं. ९ लाई मिलाएर पञ्चपुरी नगरपालिका प्रस्ताव गरिएको हो । नगरपालिकाको केन्द्र बावियाचौर–५ गाविसको विचमा राख्ने सहमितसहित जिल्ला प्राविधिक समितिमा निर्णयार्थ प्रस्ताव गरिएको छ ।

नगरपालिकाको नामाकरण र केन्द्रको बारेमा सबैको गाविसको संयुक्त छलफलबाट अन्तिम टुङ्गो लागिसकेको छ । यो नगरपालिकामा झण्डै ३३ हजार जनसंख्या रहेको छ ।
१) सालकोट गाविसलाई १, २ र ३
२) बावियाचौर गाविसलाई ४, ५ र ६
३) छाप्रे गाविसि नगरपालिकाको वडा नंं. ७ र ८,
४) विद्यापुर गाविस नगरपालिकाको वडा नं. ९
५) घाटगाउँ वडा नं. ९ नगरपालिकाको वडा नंं. १०
६) तातापानी गाविस नगरपालिकाको वडा नं. ११ र १२ प्रस्ताव गरिएको छ ।

३. बराह गाउँपालिका

पाँच वटा गाउँ विकास समिति मिलाएर बराह गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । जिल्ला प्राविधिक सहयोग समितिले गरेको प्रस्ताव अनुसार पोखरीकाँडा, कुनाथरी, तरंगा, हरिहरपुर र लेखगाउँ गाविस मिलाएर बराह गाउँपालिका बनाउन स्थानीय तहमा छलफल समेत भएको छ ।

पाँच वटै गाविसका प्रतिनीधि, सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलले गाउँपालिकाको टुङ्गो लगाएको छ । २६ हजार ८ सय २ जनसंख्या रहेको उक्त गाउँपालिकाको केन्द्रका विषयमा भने दुई वटा स्थान छलफलमा आएका छन् । कुनाथरीको बड्डीचौर बजार र जुम्ला सडक खण्डमै पर्ने ओदानतालमा केन्द्र बनाउन सुझाव आएको थियो । केन्द्र बनाउने विषयमा भने जिल्ला प्राविधिक समितिले अन्तिम निर्णय गरी आयोगलाई केन्द्रमा बुझाउने छ । सरकारी भौतिक संरचनाका दृष्टिकोणले बड्डीचौर नै उपयुक्त हुने देखिएको छ ।

४. वीरेन्द्रनगर नगरपालिका

cluster4 copy

सुर्खेतको सबै भन्दा पुरानो र सबै भन्दा ठुलो नगरपालिका वीरेन्द्रनगर नगरपालिका हो । १ बर्ष अघि मात्रै केही गाविस समेत थपिएको थियो । लाटीकोइली, जर्वुटा र उत्तरगंगा जोडिँदा यसमा २५ वटा वडा विभाजन गरिएको थियो ।

स्थानीय निकाय पुनर्संरचना आयोगको तोकेको मापदण्ड र जिल्ला प्राविधिक सहयोग समितिले गरेको प्रस्तावमा केही गाविस पुनः थपिने छन् । रतु, गढी दुई गाविसलाई थप्ने प्रस्ताव सहयोग समितिले गरेको थियो भने स्थानीय सरोकारवालाले साटाखानी गाविसको केही भाग र गर्पन गाविसलाई समेत वीरेन्द्रनगरमा समेटनुपर्ने सुझाव आएको छ ।

सुर्खेत उपत्यकाको खानेपानी स्रोत, मुहान पर्ने रतु र गर्पन गाविस भएकाले दिर्घकालिन सहजताका लागि दुई गाविसलाई नगरपालिकामा राख्नुपर्ने सुझाव आएको हो । गर्पन गाविसलाई वीरेन्द्रनगरमा मिसाउँदा उता चिङगाड गाउँपालिकाको जनसंख्या नपुग्ने भएको गर्पनलाई नगरमा मिसाउने सम्भावना न्यून छ ।

साटाखानी गाविस वडा नंं ८ मा यस छैठौं प्रदेशको मुख्य औद्योगिक क्षेत्र प्रस्ताव गरिएको छ । देशका ७ वटा प्रदेशमा करिव १ हजार विगाह क्षेत्रफलको औद्योगिक क्षेत्र बनाउने केपि ओली नेतृत्व सरकारको योजना अनुसार उक्त क्षेत्र प्रस्ताव गरी केन्द्रमा निर्णयार्थ पठाइएको छ । प्रदेशकै औद्योगिक क्षेत्र नगरपालिकामै पार्नुपर्ने आवाज उठेपछि साटाखानी वडा नं. ७ र ८ लाई वीरेन्द्रनगरमा मिसाउन प्रस्ताव गरिएको छ ।

वीरेन्द्रनगर वडा विभाजन समेत प्रस्ताव गरिएको छ । स्थानीय विकास अधिकारी तथा जिल्ला प्राविधिक सहयोग समितिका संयोजक हिरालाल रेग्मीले सामाजिक सञ्जाल फेसबुकमा वडा विभाजन प्रस्ताव गरेका हुन ।

वीरेन्द्रनगर साविक १ र २ प्रस्तावित वडा नं. १, साविक ३ र ४ प्रस्तावित वडा नं. २, साविक ५, ७ र ८ लाई प्रस्तावित वडा नं. ३, साविक ६ प्रस्तावित वडा नं. ४, साविक ९ र १० प्रस्तावित वडा नं. ५, साविक ११ र १२ प्रस्तावित वडा नंं. ६ वनाउन सुझाव माग गरिएको छ ।
त्यसैगरी साविक वडा नं. १३ र २१ प्रस्तावित वडा नं. ७, साविक १४ र १६ प्रस्तावित वडा नं. ८, साविक १५ र १७ प्रस्तावित वडा नं. ९, साविक १८ प्रस्तावित वडा नं. १०, साविक १९,२० र २५ प्रस्तावित वडा नं. ११, साविक २२, २३ र २४ प्रस्तावित वडा नं. १२, साविक साटाखानी १–७ सम्म प्रस्तावित वडा नं. १३, साविक गढी गाविस प्रस्तावित वडा नं. १४ र साविक रतु गाविस प्रस्तावित वडा नं. १५ बनाउन प्रस्ताव गरिएको छ । ६ वटा साविक गाउँ विकास समिति मिलेर बन्ने वीरेन्द्रनगरमा कुल ९८ हजार ४ सय ४७ जनसंख्या रहेको छ ।

५. भेरीगंगा नगरपालिका

भेरीगंगा नगपालिका सुर्खेतको दोस्रो नगरपालिका हो । वीरेन्द्रनग नगरपालिका पछिको दोस्रो नगरपालिकामा केही नयाँ गाविसहरु थपेर नगरपालिका बनाउन जिल्ला प्राविधिक समितिले प्रस्ताव गरेको छ ।

छिन्चु, रामघाट र मैनतडा मिलेर बनेको नगरपालिकामा अन्य थप ४ वटा गाउँ विकास समिति थप्ने प्रस्ताव गरिएको छ । भेरीगंगा नगरपालिकामा ७ वटा गाविस जोडिएका छन् । ५८ हजार ८ सय ८४ जनसंख्या रहेको छ । यसको नामकरणका विषयमा कुनै विवाद छैन । पुरानै नाम भेरीगंगा नगरपालिका र यसको केन्द्र रामघाट र छिन्चुको विचमा पर्ने राताचौरमा राख्ने सर्वसम्मत निर्णय पारित भएको छ भने वडाहरु समेत विभाजन गरिएको छ ।

६. चिङ्गाड गाउँपालिका

सुर्खेतको भौगोलिक दृष्टिकोणले महत्वपूर्ण मानिएको चिङ्गाड दरामा एउटा गाउँपालिका बन्ने भएको छ । जिल्ला प्राविधिक सहयोग समितिले तयार गरेको प्रस्तावित खाकामा चिङ्गाड गाउँपालिका बन्ने भएको हो ।

चिङ्गाड क्षेत्रका विभिन्न ८ वटा गाविस मिलेर एउटा गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । सबै गाविसका प्रतिनीधिहरुको संयुक्त भेलाले उक्त गाउँपालिकाको नाम चिङ्गाड गाउँपालिका राख्ने सर्वसम्मत निर्णय भएको छ ।

उक्त गाउँपालिकामा खास गरी अवलचिङ, नेटा, रजेना, रानीवास, मटेला, पाम्का, गर्पन र साटाखानी गाविसको केही वडा मिलाउने प्रस्ताव गरिएको छ । नाम र वडा विभाजनमा सहमति भैसकेको छ । जिल्ला प्राविधिक सहयोग समितिले गरेको छलफलपछि नामाकरण र वडा विभाजनमा सहमति भएको छ भने केन्द्र राख्ने विषयमा दुई वटा स्थानको नाममा निर्णय भएको छ ।
चिगाढ गाउँ कार्य पालिकाको नामाकरण गर्ने निर्णय गर्दै ९ वडा कार्यपालिका राख्ने प्रतिवद्धता जनाएका छन् । अवलचिङ वा पाम्का–७ को पुर्णेमा केन्द्र बनाउनुपर्ने सुझाव सहित दुई वटा स्थानमा निर्णय भएको छ । यसको अन्तिम निर्णय जिल्ला प्राविधिक समितिले टुङग्याउने जनाइएको छ । भौगोलिक सुगमता, पुराना सरकारी भौतिक संरचनाको उपलब्धताका आधारमा अवलचिङ नै केन्द्र बन्ने निश्चित छ । यस गाउँपालिकामा ३२ हजार १ सय ४० जनसंख्या रहेको छ ।
चिङ्गाड गाउँपालिकाको नेटा गाविसलाई वडा नं. १, रजेना गाविसलाई वडा नं. २, रानीवास गाविसलाई वडा नं. ३, मटेला ६–९ लाई वडा नं. ४, मटेला १–५ लाई वडा नंं ५, अवलचिङ गाविसलाई वडा नं. ६, पाम्का गाविसलाई वडा नंं. ७, गर्पन गाविसलाई वडा नं. ८, साटाखानी ८ र ९ लाई वडा नंं. ९ बनाउने स्थानीय स्तरबाट निर्णय गरी जिल्ला प्राविधिक सहयोग समितिमा पठाइएको छ ।

७. गुर्भाकोट नगरपालिका

स्थानीय निकाय पुनर्संंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिले शुभाघाट गंगामाला नगरपालिकाको नामाङ्कन र सिमाङ्कनका बारेमा छलफल गरेको छ । शुभाघाट नगरपालिकामा समितिले केही गा.वि.स. समायोजन गर्ने प्रस्ताव गरेको थियो ।

शुभाघाट नगरपालिकामा पर्ने सात गाविसहरु धारापानी, मालारानी, सहारे, मेहलकुना, घुमखहरे, दहचौर र गुमी गाविसका स्थानीय सरोकारवालाको संयुक्त छलफल सम्पन्न भएको हो । सात गाविसको वडा विभाजन, नगरपालिकाको नयाँ नामाकरण र नगरपालिकाको केन्द निर्धारण सम्वन्धि छलफल गर्ने उद्देश्य ले कार्यक्रम को आयोजना गरिएको थियो ।
कार्यक्रमसँगै गाविसका वडा विभाजन गरिनुका साथै नगरपालिकाको कार्यालय हालकै स्थान शुभाघाट गङ्गामाला नगरपालिका वडा नं. ६ मा यथावत राख्ने र नगरपालिकाको नाम गुर्भाकोट नगरपालिका राख्न सिफारिस गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । यसमा ४३ हजार ७ सय ६५ जनसंख्या रहेको छ ।

८. सिम्ता गाउँपालिका

जिल्लाको सबैभन्दा पूर्वि सिमानामा पर्ने ८ गाउँ विकास समितिलाई मिलाएर एउटा गाउँपालिका गराउने प्रस्ताव गरिएको छ । जाजरकोट, सल्यान, रुकुमसंग सिमाना जोडिएको उक्त गाउँपालिकाको नाम सिम्ता गाउँपालिका राख्ने सबैको सहमति भएपनि केन्द्र कहाँ बनाउने भन्ने विषयमा विवाद देखिएको छ । आठ गाउँ विकास समिति बजेडिचौर, आग्रीगाउँ, काफ्लकोट, घोरेटा, खानीखोला, डाँडाखाली, काप्रिचौर र राकम गाविस समेटिएको छ ।

सिम्ता गाउँपालिका बनाउँदा त्यसको केन्द्र कहाँ बनाउने भन्ने विषयमा स्थानीय राजनीतिक दलवीचमा मतविभाजन भएको छ । आठ वटै गाविसका राजनीतिक दल, नागरिक समाज, संघ संस्था, गाविस सचिवको उपस्थितिमा भएको छलफल कार्यक्रममा केन्द्र राख्ने विषयमा विवाद भएको हो । केन्द्र राख्ने विषयमा छुट्टा छुट्टै ३ वटा प्रस्ताव आएका थिए ।
बजेडिचौर, आग्रीगाउँ, काफलकोट, घारेटा गाविसको सर्वदलिय टोलीले बजेटीचौरको ७ नम्बरमा केन्द्र बनाउनुपर्ने प्रस्ताव गरेका छन् । खानीखोला, डाँडाखाली र काप्रिचौर गाविसको सर्वदलिय टोलीले बजेडिचौर–३ र ४ को आलिमा केन्द्र बनाउनुपर्ने प्रस्ताव गरेका छन् । राकम गाविसको सर्वदलिय टोलीले राकम गाविसले वडा नं. २ जामुनेबजारमा केन्द्र बनाउनुपर्ने प्रस्ताव गरेको छ । तीन वटै स्थान मध्ये जिल्ला प्राविधिक समितिले भौगोलिक, जनसंख्याको सुगमताका आधारमा उपयुक्त ठानेको स्थानलाई अन्तिम टुङ्गो लगाएर केन्द्रमा पठाउने छ । यो गाउँपालिकाको जनसंख्या २५ हजार ८ सय ४५ रहेको छ ।birendranagar

साभारः अनलाइन सुर्खेत