कुखुरापालन व्यवस्थापन तालिम


IMG_5869सुर्खेत, ३० भदौ । बिहीबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा पाँचदिने कुखुरापाल व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ । सुन्दरनेपाल संस्थाद्वारा सञ्चालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रबर्धन कार्यक्रम(पहल)को आयोजनामा उक्त पाँचदिने तालिम सुरु भएको हो ।

परियोजना लागु भएका गाविसका कृषकहरुलाई कुखुरापालन सम्बन्धी व्यवस्थापन, समस्या, चुनौती तथा समाधानका विषयमा जानकारी गराई कुखुरापालन व्यवसायमा सफल बनाउने सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा पहल परियोजना लागु भएका रजेना, धारापानी, लेखपराजुल, नेटा र काँफलकोट गाविसका कृषकसमूहमा आवद्ध किसानहरुको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले आफ्नो विगतको अनुभव साँट्दै किसानहरुलाई कुनैपनि व्यवसाय गर्नको लागि ज्ञान, सीप र दक्षता हासिल गर्न अत्यावश्यक भएको बताए ।

उनले आजभन्दा करिब ३० वर्ष अघि गाउँमा गरेको हातले कपडा बुन्ने उद्योग र आवश्यक प्राविधिक ज्ञान थाहा नपाउँदा बन्द गर्नुपरेको अवस्थाबारे बताए । यस्तै, द्वन्द्वकालमा आफुले कुखुरापालन व्यवसाय गरेपनि कुखुरापालनबारे राम्रो सँग जानकारी नपाउँदा घाटा बेहोर्नुपरेको समेत जानकारी गराए । अध्यक्ष भुषाले तालिममा सहभागिहरुलाई तालिमबाट सिकेका प्राविधिक कुराहरुलाई व्यवसाय सञ्चालनको क्रममा लागु गर्नसके आफ्नै ठाउँमा रोजगारीको वातावरण सिर्जना गर्न सकिने बताए ।

यस्तै, पहल कार्यक्रमका क्षेत्रीय बैकल्पीक जीविकोपार्जन बजार व्यवस्थापक अधिकृत रामप्रसाद दासले पहल परियोजनाले गर्ने काम र लक्ष्य, उद्देश्यका बारेमा जानकारी गराएका थिए । पाँच दिने तालिमका प्रशिक्षक तथा जिल्ला पशुसेवा कार्यालय सुर्खेतका पशुस्वास्थ्य प्राविधिक भोजप्रसाद चपाईले कुखुरापालन व्यवयासयको अवसर चुनौती र समस्या समाधानका विषयमा छोटकरीमा जानकारी दिएका थिए । कार्यक्रममा पहल परियोजनाका क्षेत्रीय सुशासन अधिकृत सम्भुजंग राणाको पनि सहभागीता रहेको थियो ।