चीनसँग असमझदारी छैनः प्रचण्ड


‘मोदीसँग दिल खोलेर कुरा भयो, उत्साहित छु’

prachanda4नयाँदिल्ली: प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, ‘हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।’ चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा दाहालले यस्तो बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण स्थगित भएको सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नमा दाहालले भने, ‘चीनबाट उच्चस्तरीय भ्रमण तय हुन सकिरहेको छैन । पहिले पनि भ्रमण हुने निर्णय भएको थिएन । हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’ उनले छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

दाहालले आफ्नो भ्रमणबाट भारतसँगको सम्बन्ध नयाँ धरातलमा विकसित भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्री मोदीजीसँग यसपटक खुलेर दिलबाट कुरा भएको छ । विश्वासको आधार बनेको छ । उहाँ नेपालप्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ’, नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार दाहालले भने, ‘मेरो भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ धरातलमा उठाउन आधार तयार गरेको छ ।’

भारतले अझै पनि नेपालको नयाँ संविधानको पूर्ण स्वागत गरेन नि भन्ने प्रश्नमा दाहालले स्पष्ट जबाफ दिन सकेनन् । उनले भने, ‘संविधान हाम्रो आन्तरिक विषय हो । हिजै जारी भएको नेपाल–भारत संयुक्त वक्तव्य हेर्दा स्पस्ट थाहा हुन्छ, उहाँहरूले हाम्रो संविधानलाई कसरी लिनुभएको छ । यसलाई कसैले बंग्याएर व्याख्या गर्नु उचित हुँदैन । भाषा आफैं प्रस्ट छ ।’

हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’

नेपाल र भारतबीच शुक्रबार राति जारी संयुक्त वक्तव्यमा भारतले नेपालमा संविधान जारी भएकोमा स्पष्ट रूपमा स्वागत गरेको छैन । बरु उसले घुमाउरो पारामा संविधान संशोधनका लागि नेपालमाथि थप दबाब दिएको छ ।

भारतले संयुक्त वक्तव्यमा नेपालका सबै पक्ष समेटेर समावेशी संवादका माध्यमबाट समस्या समाधान गर्न नेपाललाई सुझाएको छ । भारतले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि अहिलेको सरकारले गरेको प्रयासको भने स्वागत गरेको छ ।

प्रधानमन्त्री दाहालले आफू भारत भ्रमणबाट पूर्ण सन्तुष्ट रहेको बताए । उनले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिएर भारत र चीनमा विशेषदूत पठाएको बताए । ‘यसबाट थाहा हुन्छ कि मेरो सरकारले छिमेकसँगको सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाएको छ’, उनले भने ।

दाहालले मधेसीहरूको माग सम्बोधनका लागि दोस्रो पटक संविधान संशोधन हुन लागेको बताए । ‘दुई तिहाइ बहुमतबाटै संविधान संशोधन हुन्छ’, उनले भने । प्रधानमन्त्री दाहालले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग दुवै देशले सीमालाई दुरुपयोग हुन नदिने, एकीकृत सुरक्षा जाँच चौकीहरूको निर्माण चाँडै सम्पन्न गर्ने, खुला सीमा व्यवस्थित गर्न सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको बताए ।

उनले नेपालको शान्ति प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको र आगामी दिनमा पनि रहिरहने बताए । दाहालले संविधान संशोधनको विषय आन्तरिक रहेको र मुलुकभित्रै टुंग्याइने बताए । मधेस आन्दोलनमा भारतको हात रहेको भन्ने आफूले विगतमा कहिल्यै नबताएको उनले बताए । ‘मधेस आन्दोलनको नेताका रूपमा म थिएँ ।

मधेसीहरूसमेत सहभागी ३० दलीय मोर्चाको नेता मै थिएँ । मैले कुनै दोस्रो देशको इसारामा मधेस आन्दोलन भएको भनेको थिइन’, उनले भने ।
दाहालले मधेस समस्याको समाधानका लागि सकारात्मक रूपमा कुराकानी भइरहेको बताए । ‘हामी मधेसी दलसँग सहमतिको मार्गतर्फ अघि बढिरहेका छौं’, उनले भने ।

नाथ्पा झाँक्री परियोजना भ्रमण

प्रधानमन्त्री दाहालले शनिबारै भारतको हिमाञ्चलस्थित नाथ्पा झाँक्री विद्युत् परियोजनाको अवलोकन भ्रमण गरेका छन् । दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटेका छन् । त्यस्तै उनले दिल्लीस्थित पूर्वकूटनीतिज्ञहरू र भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग पनि भेटेका छन् ।

उनले नेपालले नयाँ संविधान जारी गरेर राजनीतिक प्रक्रिया पूरा गरेको र आर्थिक विकासको पथमा लागेको बताए । नेपालमा अहिले वैदेशिक लगानीका लागि राम्रो अवसर रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । चारदिने भारतको राजकीय भ्रमण पूरा गरी दाहाल आइतबार स्वदेश फर्किंदैछन् ।

 साभारः अन्नपूर्ण पोष्ट