प्रम प्रचण्डको कदम गलत


31052016051249Narayan_Man_Bपाल्पा, ४ असोज। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले संविधान संशोधन गर्ने विषयमा विदेशीलाई वचन दिने प्रधानमन्त्री प्रचण्डको कदम गलत छ भन्नुभयो।

मङ्गलबार तानसेनमा नेपाल पत्रकार महासङ्घ पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रोहितले नेपालको संविधानको संशोधन आवश्यकताअनुसार नेपालीले नै गर्ने हो, विदेशी दबाबमा गर्नुहुदैन भन्नुभयो।

अफिम युद्धमा हारेको चीनलाई सहमतिमा मात्र कर लगाउन पाउने सम्झौता गरेर बेलायती साम्राज्यवादले चिनियाँ जनतालाई दुःख दिएजस्तै नेपालको संविधानमा पनि सहमति शब्द घुसाएर नेपाली जनतालाई बन्धक बनाई राखेको स्पष्ट पार्दै अध्यक्ष रोहितले जननिर्वाचित संसदलाई शासक दलहरूले बालुवाटारमा गरेको सहमतिलाई ‘हुन्छ’ भन्ने बेलायतको माथिल्लो सदन जस्तो निष्प्रभावी बनाएको दाबी गर्नुभयो।

सैद्धान्तिक रुपले नै संसदीय प्रजातन्त्रमा बहुमत अल्पमत हुने हुँदा सहमतीय पद्धतिको विरोध गरेको उल्लेख गर्दै अध्यक्ष रोहितले सहमतीय पद्धति ठीक भए शासक दलहरूले पश्चिमी प्रधानमन्त्रीय प्रणाली गलत छ भन्न सक्नुपर्छ भन्नुभयो।

पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष रोहितले देशमा विद्यमान समस्या समाधान गर्न सङ्घर्षलाई अझ उठाउनुपर्ने तर निराश हुनुहुँदैन भन्नुभयो। भियतनाम युद्धबाट संरा अमेरिकालाई फर्काउन अमेरिकी पत्रकारहरूले जनमत तयार गरेको चर्चा गर्दै अध्यक्ष रोहितले जनताको हितको लागि मिलेर जनमत निर्माण गर्न नेपाली पत्रकारहरूलाई आह्वान गर्नुभयो। शासक दलहरूले जनताको फाइदाभन्दा पनि पार्टीगत र व्यक्तिगत फाइदामात्र हेरेको हुँदा देशले दुःख पाएको चर्चा गर्दै अध्यक्ष रोहितले स्थानीय निकायबाट आधा बजेट खर्च गर्ने व्यवस्था भए नेपालले छिटो प्रगति गर्ने स्पष्ट पार्नुभयो।

यसैगरी मङ्गलबार बिहान बुटवलस्थित रेडियो नमस्तेका प्रस्तोता विक्रम खड्कासँग अन्तर्वार्ताको

क्रममा अध्यक्ष रोहितले सरकारले देशबारे जसरी चिन्तन गर्नुपर्ने हो त्यो गर्न नसकेको हुँदा देशमा अस्थिरता बढेको हो भन्नुभयो। अध्यक्ष रोहितले चिनियाँ जनता माओवादभन्दा माओ त्सेतुङ विचारधाराबाट प्रेरित भएको बताउनुभयो। ‘चिनियाँ सपना’ पुस्तकको अन्तरक्रिया कार्यक्रमका लागि साता दिनका लागि लुम्बिनी आउनु भएका अध्यक्ष रोहितले चिनियाँ सपना चीनको मात्र सपना नभई संसारका सबै जनताको भलो हुने गरी आपसी हित, समृद्धि, मेलमिलापको आधारमा अगाडि बढ्ने सपना हो भन्नुभयो।

अध्यक्ष रोहितले भन्नुभयो, ‘चीन नेपालको मामिलामा उदार देखिन्छ र चीनसँगको साझेदारीले नेपालले फाइदा लिने यथेष्ठ सम्भावनाहरू छन्।’ अध्यक्ष रोहितले जनताले समाजवादको निम्ति लड्यो तर सत्तासीन दलहरुले त्यसअनुरुप कार्य गर्न नसकेको हुँदा नेपाली जनतालाई चुनावको समयमा मत दिंदा पार्टीको घोषणापत्रअनुसार दिन आह्वान गर्नुभयो।

साभारः मजदुर अनलाइन