११ असोज सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक यातायातमा आजदेखि पुनः टाईम कार्ड लागु गरेको छ । सडक दुर्घटना न्यूनिकरण गर्न पहिला संचालन भइ बन्द रहेको सवारी टाइम कार्ड (समय तालिका) लागु गरेको हो ।

सुर्खेत देखि दैलेख, जुम्ला तथा जाजरकोट जाने सार्वजनिक सवारी साधनमा पुनः अनिवार्य टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रमुख हर्कबहादुर रावलले बताउनुभयो । यो टाइम कार्डको शुरुवात २०७२ सालमा तत्कालिन जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चरीले लागु गर्नु भएको थियो ।
अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा बसपार्कमा रहेको ट्राफिक विट जलाएपछि टाईमकार्ड बन्द भएको थियो ।टाइमकार्ड लागु भएको क्षेत्रमा विषेश गरि क्षमता भन्दा बढी यात्रु राखी यातायात संचालन हुने गरेकोले सवारी दुर्घटनालाई न्यूनिकरण गर्नकालागि पुनः यो कार्य आफूले शुरु गरेको ट्राफिक प्रमुख रावल बताउनु हुन्छ । टाइम कार्ड भन्दा छिटो गन्तब्यमा पुगेमा यातायात व्यवस्था अनुरुप सवारी चालकलाई कारवाही गरिने । ढिलो पुग्ने यातायातलाई भने कारवाही नहुने रावलले बताउनुभयो ।



Prawash Kumar Shakya । ११ आश्विन २०७३, मंगलवार १६:१० बजे