आमा किन बनायौ ?


आश्विन १८, २०७३- गाउँले मिलेर बनाएको नाट्यघर । घामले बिदा माग्ने बेला हुँदै थियो । झोराहाटस्थित नाटय घरमा साहित्य अनुरागीहरूका अघिल्तिर सर्जकहरू असिनपसिन हुँदै सिर्जना सुनाउँदै, गर्मी त्यस्तो थियो ।

कवि/कवयित्रीहरूले कहिले आमा र कहिले चिसोका कविता वाचन गरे । झोराहाट नाट्य समूह मोरङले आफ्नै भवनमा आयोजना गरेको मासिक शृंखला ‘गाउँमा कविता’ मा इलामका कवि प्रकाश थाम्सुहाङ, धनकुटाका मुकुन्द प्रयास, सुनसरीकी टीका आत्रेय र विराटनगरका कवि मीनकुमार नवोदितले चार–चार सिर्जना वाचन गरे ।

थाम्सुहाङले ‘साँझ शब्दचित्रमा,’ ‘हरियो ग्रहको मान्छे’ र ‘उज्यालो यात्रा’ लगायत सुनाए । आत्रेयले ‘आमा’ शीर्षक कविता वाचन गर्दा दर्शकश्रोता भावुक बने :

मेरो उर्बर कोखबाट धरणी आशा यही गर्दथ्यो
मैले सुन्दर सृष्टि रोप्छु जगमा विश्वास यो भर्दथ्यो
ब्रम्हाले रचना गरे यदि भने आमा बनायौ किन ?
यौटा मृत्यु गरें परास्त पहिले, आमा बनेको दिन…

उनले ‘नानीहरूका प्रश्न,’ ‘सेतो रंग र बाँस’ मा लगायत पनि सुनाइन् । नवोदितको ‘युद्धको तयारी’ शीर्षक कविताले सवैलाई द्वन्द्वकालको याद दिलायो :

यति बेला म
बुद्धको आँगनमा उभिएर
युद्धको घोषणा गरिरहेछु
युद्धका लागि मसँग
बुद्धभन्दा धेरै बूढो
खियाले खाइसकेको बन्दुक छ
जयस्थिति मल्लले कोरेको
जातीयताको धमिलो रेखा छ…

प्रयासका कविता पनि कम मार्मिक थिएनन् ।

गत वैशाखदेखि सञ्चालनमा आएको नाटकघरमा साहित्यिक शृंखलाका साथै नाटक मञ्चनसमेत हुने गरेको छ । ग्रामीण क्षेत्रमा कला र साहित्यको विकास गर्ने उद्देश्यले नाटक मञ्चन र साहित्यिक शृंखला सञ्चालन गरिएको समूहका अध्यक्ष भरत गुरागाईंले बताए । नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार गाउँमा कविता साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ ।

साभारः कान्तिपूर अनलाइन