लक्ष्मीपूजाको रात रक्सी खाएर छोराले आमाको हत्या गरे


 

 

सोमवार, कात्तिक १५, २०७३

गाइघाटः उदयपुरको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् ।

प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षकी फूलकुमारी सदालाई उनकै २२ वर्षका छोरा कालीचन सदाले राति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो ।

कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले बताए ।

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा लगिएको प्रहरी चौकी बेलस्रोतका प्रमुख लामाले जानकारी दिए ।साभारः अन्नपूर्ण पोष्ट ।Murder_by_Knife-5816bcbfa404d6.82961890