ब्रुनाईलाई हराउँदै नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा


Nepal२३ कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले ब्रुनाईमाथि शानदार जित हात पारेको छ र, समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३-० गोल अन्तरको जित हात पारेको हो ।

नेपालले पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

दोस्रो हाफमा दुई गोल थप्न सफल भयो । ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो ।

खेलको ८० औं मिनेटमा नेपालले पेनाल्टी पायो, जसमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे ।

आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको छ । हारका बावजुत ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

हारपछि ब्रुनाईका प्रशिक्षकले आफूहरुले यो रिजल्ट अपेक्षा नगरेको बताए । साथै चोटका कारण आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिएकाले पनि हार भएको उनले बताएका छन् ।

नेपालका कप्तान विराज महर्जनले आफ्नो टिमले राम्रो खेलेको भन्दै नजिताप्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् ।

साभारः अनलाइन खबर