फोरम नेपालद्वारा बृहत संघीय गठबन्धनको प्रस्ताव


काठमाडौं–नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरम नेपालले बृहत संघीय गठबन्धनको प्रस्ताव अघि सारेको छ।
तीन दिनसम्म चलेको तदर्थ केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमार्फत उक्त गठबन्धनको प्रस्ताव अघि सारिएको हो। ‘आन्दोलनलाई थप सशक्त बनाउन आन्दोलनरत सबै राजनीतिक दल तथा सामाजिक शक्तिहरू आन्दोलनको एउटै केन्द्रमा आवद्ध भई राजधानी केन्द्रित आन्दोलन गर्न जरुरी छ,’ सार्वजनिक निर्णयमा भनिएको छ, ‘त्यसका लागि पार्टीको यो बैठक सबै पहिचानवादी आन्दोलनकारी दलहरू तथा शक्तिहरूबीच एकता र सहकार्य आवश्यक भएको ठहर गर्दछ र सबै शक्तिहरूलाई वृहत सङ्घीय गठबन्धनमा आवद्ध हुन हार्दिक अपिल गर्दछ।’

नयाँ संविधानलाई प्रतिगामी करार गरेको फोरम नेपालले काठमाडौं केन्द्रित कार्यक्रममा जोड गर्दै त्यसका लागि बृहत गठबन्धन निमार्णमा जोड दिएको हो। उक्त बैठकले जारी भन्सार नाका तथा राजमार्ग केन्द्रित आम हड्ताललगायतका आन्दोलनका कार्यक्रमहरू यथावत राखेको जनाउँदै आन्दोलनको क्रममा घटनाको छानबिन गर्न एक स्वतन्त्र, निश्पक्ष तथा उच्च स्तरीय न्यायिक छानविन आयोग गठन गर्नसमेत माग गरेको छ।

साभारः नागरिक न्यूज