स्वास्थ्य कारण देखाउँदै काँग्रेस नेता थानीद्वारा उम्मेदवारी नदिने घोषणा


सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले स्वास्थ्य समस्याका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सुर्खेत क्षेत्र नम्बर–२ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारका रूपमा सिफारिस भएका थानीले अस्वस्थताका कारण निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन नसक्ने अवस्था आएको बताउनुभएको हो ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा देश हाल जटिल राजनीतिक अवस्था र अन्योलको चरणमा गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा संविधानलाई कार्यान्वयनमा ल्याउँदै मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन निर्वाचन अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ । विगत करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी गम्भीर समस्याका कारण सहज रूपमा हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ। चिकित्सकको सल्लाहअनुसार हाल घरमै फिजियोथेरापीमार्फत उपचार भइरहेको र यही कारण उम्मेदवारी मनोनयन दर्तादेखि निर्वाचन अभियानसम्म सक्रिय रहन नसक्ने निष्कर्षमा पुगिएको थानीले स्पष्ट पार्नुभएको छ ।

स्वास्थ्य अवस्थाले अनुमति नदिएकाले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा थानीले आफूलाई विश्वास, साथ, सहयोग र मायाका साथ अगाडि बढाउने सम्पूर्ण राजभाइ, दिदीबहिनी, शुभेच्छुक तथा हितैषीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, आगामी दिनहरूमा अझ सक्रिय रूपमा जनतासँगै रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।