८ माघ काठमाडौं: बंगबन्धु गोल्ड कप फुटबलको उपाधिका लागि शुक्रबार नेपालले बलियो प्रतिद्वन्द्वी बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । एसियामा राम्रो प्रभाव जमाएको बहराइनसामु नेपाली युवा खेलाडीको वास्तविक परीक्षण हुनेछ।
नेपालले सन् १९९३ पछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि नेपालका लागि बहराइनविरुद्घको खेल निकै महत्वपूर्ण छ। ढाकाको बंगबन्धु स्टेडियममा हुने उपाधिको छिनोफानोका लागि नेपालले आफ्नो सम्पूर्ण तागत लगाउने नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए।
‘हाम्रो प्रदर्शन हरेक खेलमा सुधार भएको छ । समूहगत चरणमा अग्रपंक्तिमा देखिएको कमजोरीलाई माल्दिभ्सविरुद्ध सुधार भयो । मलाई विश्वास छ । फाइनलमा खेलाडीले झनै उत्कृष्ट खेल खेल्नेछन्।
बहराइनलाई धेरै राम्रो छ । प्रतिद्वन्द्वीलाई कमजोर सोचेका छैनौं’, महर्जनले भने । महर्जनकै प्रशिक्षकत्वमा नेपालले केही समयअघि घरेलु मैदानमा यू-१९ साफ च्याम्पियनसिपको उपाधि चुमेको थियो।
फिफा वरीयतामा समेत बहराइन नेपालभन्दा धेरै माथि छ । बहराइन एक सय २१औं स्थानमा छ । नेपाल एक सय ९६औं स्थानमा छ । नेपाल र बहराइनबीच सिनियर समूहमा यसअघि भिडन्त नभएकाले नेपालका लागि यो खेल छुट्टै अनुभव हुनेछ।
यसअघि नेपालले यू-२३ उमेर समूहमा मात्र बहराइनसँग प्रतिस्पर्धा गरेको थियो । मैत्रीपूर्ण उक्त खेलमा नेपाल बहराइनसँग ३-० गोलले पराजित भएको थियो। बंगबन्धु गोल्ड कपको सेमिफाइनल पुग्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली टोली अहिले उपाधिको हकदार देखिएको छ।
समूह ‘ए’बाट प्रतिस्पर्धा गरेको नेपाल समूहको उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । समूह चरणमा नेपालले मलेसिया र आयोजक बंगलादेशलाई बराबरीमा रोकेको थियो भने श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसैगरी समूह ‘बी’मा रहेको बहराइनले सेमिफाइनलमा आयोजक बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
नेपालले माल्दिभ्सविरुद्धको सेमिफाइनलमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजाविहीन बन्दै आएको नेपालले माल्दिभ्सलाई ४-१ गोलले हराएको थियो। माल्दिभ्सविरुद्ध नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गर्दै आफूलाई नेपालको नयाँ स्ट्राइकरका रूपमा स्थापित गरे । अर्का युवा मिडफिल्डर विशाल राईले समेत पहिलो अन्तर्राष्ट्रिय गोल गरे।
विराज महर्जनको कप्तानीमा बंगबन्धु गोल्डकप खेलिरहेको नेपालले बहराइनलाई हराएर उपाधि जित्नसके ठूलो उपलब्धि हुनेछ । नेपाल सिनियर समुहमा सन् १९९९ को दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)पछि पहिलोपटक फाइनलमा पुगेको हो । नेपालले बंगबन्धु कपलाई भारतमा आयोजना हुन लागेको १२औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका रूपमा लिएको छ।
साभार : अन्नपूर्ण पोष्ट



Milan Shrestha । ८ माघ २०७२, शुक्रबार ०५:३६ बजे