गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गत वैशाख १२ गते भूकम्प गएको एक वर्षको अवधिमा बारपाकका बासिन्दाहरु विनाशको पीडा बिर्सेर जीवन सामान्य गर्ने प्रयासमा जुटिरहेको देखिन्छन्।
अधिकांश मानिसहरुले काठ, बाँस र जस्ताले छाएको छानाका एकदेखि २ तल्ले घर बनाइसकेका छन् भने बाटोघाटो निर्माण, व्यवसाय र कृषि कार्यमा उनीहरु अभ्यस्त बन्दैछन्।
एक वर्षअघि बारपाक बस्ती पूरै ढलेको थियो।
भूकम्पले ढलेका ढुंगाहरु जताततै छरिएका देखिन्थे।
बदलिंदो दैनिकी
पक्की घरहरु चिराचिरा परेका देखिन्थे।
बस्तीभित्र छिर्ने बाटो थिएन।

सेतो, निलो र सुन्तला रंगका पालहरु मात्र देखिन्थे।
अहिले काठले बारेर जस्ताले छाना लगाएका घरहरु बनिसकेका छन्।
बारपाकका बासिन्दाहरु पसल, होटल, व्यवसाय पनि सञ्चालन गरेर बसिरहेका छन्।
खेतीपाती गर्नेहरु खेतमै व्यस्त देखिन्छन्।
भूकम्पका कारण बन्द भएका होम स्टे पनि सञ्चालनमा आइसकेका छन्।
ढुंगाको गारो र छाना भएका एकनासे भवनहरु भत्केर छरिएका ढुंगाहरुलाई मिलाएर राखिएको छ।
बेखुशी
४० देखि ५० वटा इँटा र ढुंगाले बनेका घरहरु कतिपयले बनाइसकेका छन्।

भूकम्पको केन्द्रविन्दु परेकाले प्रधानमन्त्रीदेखि ठूला नेताहरु प्रायः सबै बारपाक पुगिसकेका छन्।
तर सरकारले तोकेको मापदण्ड अनुसारका घरहरु बनाउनका लागि प्राविधिकहरुको सहयोग नपाएकोमा भने बारपाकका बासिन्दाहरु बेखुशी देखिन्छन्।
बारपाक गाविसका अनुसार भूकम्पका कारण बस्न योग्य नठानिएका वरपरका झण्डै ९ गाँउका ३०० घर परिवार अहिले सोही बस्तीमा बसिरहेका छन्।
सरकारले बस्ने विकल्प नदिएका कारण असुरक्षित भएपनि बस्नुपरेको उनीहरुको गुनासो छ।
विनाशकारी भूकम्प गएको आज एक वर्ष पुगेको सम्झनामा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ भूकम्प स्मारकको शिलान्यास गर्नुका साथै गोपाल बिकको घरको शिलान्यास गरी औपचारिक रुपमा पुनर्निर्माणको थालनी सरकारले शुरु गर्दैछ।
साभारः विविसी नेपाली



Milan Shrestha । १२ बैशाख २०७३, आईतवार १३:४० बजे