मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले वितरण गरे न्यानोका कपडा


गरिबीका कारण बिहान-बेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले २-२ वटा सिरक र डस्ना वितरण गरेका छन् ।
अमेरिकामा बस्दै आएका नगेन्द्र ढकालले यी दुई कलाकारलाई सम्पर्क गरेका थिए । यसपछि, नेपाली कम्यूनिटी सेन्टर ओल्र्याण्डो र यूनाइटेड फ्लोरिडयाको सहयोगमा प्राप्त साढे ५ लाखबाट यो राहत वितरण गरिएको हो । यी दुई कलाकारले सरकार र सरोकारवालाको समेत आँखा खोलेपछि अहिले मुसहर बस्तीमा पुगेर सहयोग गर्नेहरु पनि बढेका छन् ।
उनीहरुले ५५ परिवारलाई एक-एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री पनि वितरण गरेका छन् । यस्तै, मुसहर वस्तीमा सबैभन्दा बढी अध्ययन गरिरहेका मञ्जे सदालाई ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ मार्फत प्रोत्साहन स्वरुप नगद ५ हजार पनि प्रदान गरिएको छ । विद्यालय नजिक रहेर पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला प्रदान होस् भन्नका लागि रकम प्रदान गरिएको फाउण्डेशनको भनाई छ ।
राहत वितरण गर्दै सिताराम र कुञ्जनाले सबैको सहयोग पाएको खण्डमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व आफूहरुले लिन तयार रहेको बताए । तराइका मुसहर बस्तीमा रहेका पीडित समुदायको पीडामा मल्हम लगाउन सके मधेस र पहाडविचको तिक्ततामा पनि कमी आउने सितारामको भनाई छ ।
महोत्तरी बर्दिवासमा रहेका मुसहर बस्तीका परिवार धुर्मुस-सुन्तलीको सहयोगले आफूहरु खुशी भएको बताउँछन् । उनीहरुले चाडै नै यो बस्ती नमुना बस्तीको रुपमा अगाडि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् ।
साभारः अनलाइन खबर