सामाजिक सञ्जालमा प्रतिबन्ध र सरकारी अव्यवस्थाविरुद्ध देशभर जेनजी प्रदर्शन चर्किएको छ । यस क्रममा भएको प्रहरी दमनमा परी हालसम्म ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विभिन्न अस्पतालबाट प्राप्त विवरणअनुसार, १ हजार ३ सय ६८ जना घाइते भएको बताइएको छ, जसमध्ये ३ सय २१ जना अझै पनि अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ९ सय ४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा, विशेषगरी नयाँ बानेश्वरस्थित संसद भवनअगाडि, अवस्था तनावपूर्ण बनेको थियो । प्रदर्शनकारीले घेरा तोडेपछि प्रहरीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । यस क्रममा थुप्रै प्रदर्शनकारी घाइते भएका थिए, जसमध्ये कतिपयको घटनास्थलमै र कतिपयको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मन्त्रालयको तथ्याङ्कअनुसार, सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बयोधा अस्पतालमा २ तथा त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
जेनजी युवाहरूको यो आन्दोलनले सरकारलाई गम्भीर चुनौती दिएको छ भने यसको दीर्घकालीन असरबारे विश्लेषण भइरहेको छ । यो घटनाले नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि उठेका प्रश्नहरूलाई थप उजागर गरेको छ ।
ऐजेन्सीहरुको सहयोगमा



Prawash Kumar Shakya । २६ भाद्र २०८२, बिहीबार १४:१८ बजे