ह्याकरलाई ३ सय ३४ वर्षको जेल सजायँ


धेरै मानिस सय वर्ष नपुग्दै मर्छन् । त्यसैले बालिग मानिसलाई कुनै गम्भीर अपराधमा आजिवन जेल सजाय तोकेपनि ऊ बढिमा ८०-९० वर्ष जेलमा बस्ला । त्यसपछि त उसको प्राणन्त भैहाल्छ । तर आखिर अदालती फैसला न हो, एक सय वर्ष पनि नबाँच्ने मानिसलाई ३-४ सय वर्षको जेल सजाय तोक्न न्यायाधीशहरु पछि पर्दैनन् ।
आखिर कानूनले त्यस्तै व्यवस्था गरेपछि के गर्नु त । टर्कीमा भएको छ यस्तै । त्यहाँ २६ वर्षका एक युवकले ३ सय ३४ वर्षको जेल सजायँ पाएका छन् । टर्कीका एक ह्याकर ओनुर कोप्क्याकलाई मानिसहरु क्रेडिट कार्ड ह्याक गरेको अभियोगमा एक अदालतले ३३४ वर्षको जेल सजाय सुनाएको छ ।
ओनुर सँगै अन्य ११ जना ह्याकरलाई सन् २०१३ मा एक नक्कली वेबसाइट मार्फत ठगी गरेको अभियोगमा गिरफ्तार गरिएको थियो । उक्त वेबसाइटको माध्यमबाट उनीहरुले मानिसहरुका बैंक क्रेडिट कार्डको विवरण चोर्ने गर्दथे । बैंकका उपभोक्ताहरु उक्त वेबसाइटलाई आधिकारिक ठानेर आफ्नो क्रेडिट कार्डको पूरा विवरण त्यसमा भर्ने गर्दथे । अनि ह्याकरहरुले क्रेडिट कार्डका ती विवरण मार्फत मानिसहरुको पैसा उडाइदिन्थे ।
ती युवा विरुद्ध विभिन्न ४३ जना मानिसले ठगीको जाहेरी दिएका थिए र अदालतमा मुद्दा चल्दा उनीमाथि १९९ वर्ष ७ महिनाको सजाय सुनाइएको थियो ।
पुनः अर्को अभियोगमा सुनुवाई हुँदा गत जनवरी १० मा अदालतले ओनुरलाई ११ वटा क्रेडिट कार्डको विवरण चोरी गरेको प्रमाणित गरी उनको जेल सजाय बढाएर ३ सय ३४ वर्ष पूराएको हो । – एजेन्सीको सहयोगमा