अनौठो स्मार्टफोन, जो मोबाइल फोनमै इ-चुरोट पनि



समयसँगै स्मार्टफोनको दुनिया अत्याधुनिक बनिरहेको छ र नयाँ नयाँ फिचर्स तथा क्षमता भएका स्मार्टफोनहरु बजारमा आउने क्रम चलिरहेको छ ।
यहीँ मेलोमा एक अमेरिकी कम्पनीले निकै अनौठो खालको स्मार्टफोन बजारमा ल्याएको छ । अमेरिकी कम्पनी वेपरकेडले यस्तो स्मार्टफोन ल्याएको छ जसबाट तपाइँले फोन गर्न मात्र होइन की चुरोट पिउन पनि सक्नुहुन्छ । वास्तवमा यो ग्याजेट स्मार्टफोन र इ सिगरेटको ठिमाहा रुप हो भन्दा फरक पर्दैन । धुम्रपानको लत छोडाउनका लागि यो स्मार्टफोन सहयोगी हुने दाबी कम्पनीको छ ।
दी भर्जको रिपोर्ट अनुसार जुपिटर आइ ओ थ्री नामको यो स्मार्टफोन विश्वमा इ सिगरेटयुक्त पहिलो स्मार्टफोन हो । यो थ्री जी स्मार्टफोनको मूल्य २९९ डलर तोकिएको छ र यसमा किटक्याट ४.४ अपरेटिंग सिस्टम रहेको छ ।
यो फोनको हार्डवेयरमा फ्लासयुक्त क्यामरा, दुइवटा ब्याट्री रहेका छन् । एउटा ब्याट्री स्मार्टफोनका लागि हो भने अर्को इ सिगरेटका लागि । एउटा ब्याट्रीको चार्ज सकिँदा अर्को ब्याट्री उपयोगमा ल्याउन भने सकिन्छ ।
स्मार्टफोनको सबैभन्दा माथि एक प्लास्टिक कभर रहेको छ, जसको तलपटि्ट एउटा प्वाल छ । यसबाट इ सिगरेटको स्वाद लिन सकिनेछ । यो स्मार्टफोनमा इ सिगरेटका लागि मात्रै वेपरकेड एप रहेको छ । जसले ब्याट्रीको चार्ज कति बाँकी छ ? इ चुरोटको कति झोल बाँकी छ, कुन वासना रहेको छ र कति प्रयोग भैसक्यो भन्ने लगायतका विषयमा जानकारी दिन्छ ।
स्मार्टफोन निर्माताका अनुसार यो एपले मानिसलाई लक्ष्य तय गरेर धुमपान त्याग्ने बाटोतर्फ अघि बढ्न प्रेरित गर्दछ । इ चुरोटको बढि सर्को लिएमा एपले अलर्ट गराउँछ ।
वेपरकेड कम्पनी इ सिगरेट, सिगार तथा कफीको व्यापार गर्ने कम्पनी हो । यसले छिटै ४९९ डलरको महंगो फोर जी स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।
साभारः अनलाइन खबर