५ फागुन । नेपालगंज सुर्खेतरोडका ३ सय ८१ घरपरिवार ३ वर्षदेखि खानेपानीबाट वञ्चित रहँदै आएका छन् । तर उनीहरुले नियमित रुपमा खानेपानी संस्थालार्इ मासिक रुपमै न्यूनतम महशुल तिर्दै आएका छन् । जमुनाह–राँझा फोरलेन सडक विस्तारका क्रममा खानेपानीका पाइप बिग्रँदा यहाँका सर्वसाधारण खानेपानी संस्थानले वितरण गरेको खानेपानीबाट वञ्चित भएका हुन् । सडक निर्माणको जिम्म्मेवारी लिएको पप्पु कन्स्ट्रक्सन जेभीले खानेपानीको मूल पाइपबाट उपभोक्ताले प्रयोग गर्दै आएको पानीको पाइपलाइन काटेर नयाँ पाइपलाइन नजोडिदिँदा यस्तो समस्या आएको स्थानीयले बताएका छन् ।
सुर्खेतरोडको ट्राफिक कार्यालयदेखि उत्तरतर्फ सडक डिभिजन कार्यालयसम्मका ३ सय ८१ जना उपभोक्ताको पाइपलाइन सडक निर्माणका क्रममा काटिएको नेपाल खानेपानी संस्थानले जनाएको छ । सडक निर्माण कम्पनीले समयमै काम नगर्दा उपभोक्तालार्इ ३ वर्षदेखि अधिकांशका धारमा पानी वितरण गर्न नसकिएको संस्थानले जनाएको छ ।
पानी नआए पनि संस्थानले उपभोक्ताबाट खानेपानीको महसुल नियमानुसार असुली गर्दै आएको संस्थानका कर्मचारी दीपक शर्माले बताएका छन् । यहाँका धाराधनीले संस्थानको पानी खान नपाएको धेरै भइसक्दा पनि खानेपानी संस्थानले न्यूनतम शुल्क भने लिँदै आएको छ । उक्त सडकको पिचमुनिबाट ३० ठाउँमा पाइपलाइन ‘इन्टर कनेक्सन’ नगरेसम्म उपभोक्तालार्इ पानी सप्लार्इ गर्न नसकिने संस्थानले बताएको छ । सडक निर्माणको जिम्मा पाएको कम्पनीले नै इन्टर कनेक्सन गर्नुपर्ने हो, तर अहिलेसम्म चासो दिएको छैन । संस्थानका कर्मचारी शर्माले भने ‘ अदालतमा दर्ता भएको मुद्दा फैसलापछि मात्रै अब यहाँको समस्या समाधान होला जस्तो छ ।’ खानेपानीको पाइप लाइन बिछ्याउन सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी पप्पु जेभीलार्इ पटक–पटक निर्देशन दिँदासमेत बेवास्ता गरेको संस्थानले बताउँदै आएको छ ।
नेपालगन्ज खानेपानी संस्थानको पानी ४ हजार ७ सय ७ घरधुरीले प्रयोग गर्दै आएका छन् । सम्बन्धीत निकायले लार्इन मर्मतमा चासो नदेखाएपछि यहाँका एक स्थानीयले अदालतमा ६ महिना अघि मुद्दा दर्ता समेत गराएको कानुन व्यवसायी विश्वराज तिवारीले जानकारी दिए । उक्त मुद्दामाथि बुधबार उच्च अदालत तुलसीपुर अन्तरगत नेपालगन्ज बेन्चमा न्यायाधीस शेषराज शिवाकोटी र सारङ्गा सुवेदीको संयुक्त इजलासमा बहस भएको छ । यस मुद्दामा कानुन व्यवसायी तिवारीसहित लोकबहादुर शाह, बलबहादुर चन्द, कृष्ण जैशी लगायतले पनि बहस गरेको तिवारीले जानकारी दिए ।



Prawash Kumar Shakya । ५ फाल्गुन २०७३, बिहीबार १६:३३ बजे