बैद्य माओवादी बन्यो पारिवारिक पल्टन


काठमाण्डौ, ९ बैशाख ।
आदर्श कम्युनिष्ट पार्टी बनाउने भन्दै एमाओवादीबाट छुटिएको नेकपा(माओवादी पनि भागबण्डाको किचलोमा परेको छ । हालै केन्द्रीय समितिमा तानिएका अधिकांश ठूला नेताका आफन्त र भाइभतिजा परेपछि माओवादी आफन्तहरुको क्वलजस्तो भएको चर्चा चल्न थालेको छ ।

नेताको चाकडी गरेको भन्दै कारबाहीमा परेकाहरु पनि केन्द्रीय समितिमा पुगेका छन । पूर्वाञ्चलको खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा लगायतका जिल्लाबाट केन्द्रीय समितिमा कोही पनि परेका छैनन भने सचिव नेत्रबिक्रम चन्द बिप्लवका दुई दाजुभाई नै केन्द्रीय सदस्य बन्न सफल भएका छन ।
सोमबार प्रकाशित साँघु साप्ताहिकका अनुसार मेची अञ्चलबाट ध्रुव आङदम्बे र इन्द्र आङदम्बे मनोनित भएका छन भने कोशी अञ्चलबाट दीपेश राईमात्र मनोनित भएका छन । पोलिट्ब्युरो सदस्य कुलबहादुर केसीकी पत्नी तारा घर्तिमगर अञ्जली र केन्द्रीय सदस्य उमा भुजेलका श्रीमान बसन्त श्रेष्ठ, दावा लामाका श्रीमानरश्रीमती पनि केन्द्रीय सदस्यमा बढुवा भएका छन । अधिकांश नेताहरु आफ्ना श्रीमतीहरुलाई केन्द्रीय सदस्य बनाउन सफल भएका छन ।
पवनमान श्रेष्ठले श्रीमती जयन्ती लुइँटेल, दिनेश शर्माले लक्ष्मी मुडभरी र दिलीप प्रजापतिले श्रीमती प्रतिभा श्रेष्ठलाई केन्द्रीय सदस्य बनाएका छन ।