सिड्नीमा मृत्यु भएका नेपालीका शव स्वदेश पुगे


मृतकका आफन्तले बचेको रकम कल्याणकारी कोषलाई दिए

सिड्नी । सिड्नीको मरुव्रा बीचमा डुबेर निधन भएका झापाका सुदीप उप्रेती र काठमाडौंकी श्रृष्टी भण्डारीको शव काठमाडौं पुगेको उनीहरुका आफन्तले बताएका छन् । सुदीप उप्रेतीको शव आज सोमबार काठमाडौं पुगेको र मंगलबार झापामा अन्त्येष्टी गरिने मृतकका सिड्नीमा भएका आफन्त अशोक उप्रेतीले बताए ।

उनले शव नेपाल पठाउन सहयोग गर्ने अष्ट्रेलियाबासी नेपालीहरुलाई मृतकका परिवारका तर्फबाट धन्यवाद पनि दिएका छन् ।NRN-Australia

त्यस्तै काठमाडौंकी श्रृष्टी भण्डारीको शव गत सोमबार नेपाल पुर्‍याइएको र मंगलबार हिन्दु सँस्कार अनुसार अन्त्येष्टी गरिएको श्रृष्टीका सिड्नीस्थित छिमेकी राजन कँडेलले बताए ।

आइतबार एक छुट्टै भेटघाट गरी मृतक भण्डारीका छिमेकी कँडेलले उनको अन्त्येष्टीका लागि अष्ट्रेलिया र विश्वभरबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै भण्डारीको शव नेपाल पठाउनका लागि प्राप्त भएको सहयोग रकम र त्यसको खर्च विवरण सार्बजनिक गरिएको छ ।

गैरआवासीय नेपाली संघ ओसियाना संयोजक महेन्द्र लम्साल, अष्ट्रेलिया अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, आईसीसी सदस्य बालचन्द्र भट्टराई, नेपाली जनसम्पर्क मञ्च अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीलगायतको उपस्थितिमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच मृतक श्रृष्टी भण्डारीका छिमेकी राजन कँडेलले जम्मा १६ हजार ३४९ अष्ट्रेलियन डलर र ३४ सेन्ट रकम उठेको बताए । जसमध्ये शव नेपाल पठाउन ६ हजार ५८० डलर लागेको श्रृष्टी भण्डारीको परिवारलाई ७ हजार ७५४ अष्ट्रेलियन डलर र ३४ सेन्ट पठाइएको पनि जानकारी दिइयो ।

सोही कार्यक्रममा उठेको रकममध्ये २ हजार डलर गैरआवासीय नेपाली संघको लोककल्याणकारी कोषमा जम्मा गरिदिन अनुरोध गर्दै सो रकम बराबरको चेक गैरआवासीय नेपाली संघलाई बुझाइएको थियो ।

अध्यक्ष सुरेन्द्र सिग्देलले अष्ट्रेलियामा नेपालीहरुलाई दुःख पर्दा सबै नेपाली खुला हृदयले सहयोगमा जुट्ने गरेको बताए । उनले उठेको रकममध्ये खर्च गरेर बचेको रकम एनआरएनको लोकल्याणकारी कोषमा जम्मा गरिनु राम्रो सुरुवात भएको बताए ।

एक तथ्यांक अनुसार अष्ट्रेलियामा भएका आकस्मिक दुर्घटनाहरुमा नेपालीहरुलाई सहयोग गर्न अष्ट्रेलियाको नेपाली व्यवसायीक घराना भने त्यति उत्साहित देखिँदैन बरु सामाजिक सञ्जालहरुबाट व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या भने उल्लेख्य मात्रामा छ ।साभारः अनलाईन खबर ।