नेपाल आन्तरिक समस्या आफैं समाधान गर्न सक्छ : चिनियाँ उपमन्त्री


PM-24032017060412-1000x0
चैत्र ११, २०७३- चीनका उपप्रधानमन्त्री झाङ गाओलीले नेपाल जुनसुकै आन्तरिक समस्या समाधान गर्न आफै सक्षम रहेको बताएका छन् । ‘नेपाल जुनसुकै आन्तरिक समस्या समाधान गर्न आफै सक्षम छ । त्यही विश्वासमा नेपाल अघि बढोस भन्ने हाम्रो चाहना हो,’ चिनियाँ उप्रधानमन्त्रीले चीन भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहालसँग बोआओ गेष्ट हाउसमा भेट्दै त्यस्तो धारणा ब्यक्त गरे, ‘नेपालले संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुशी व्यक्त गर्दछौं । नेपालका राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्न हाम्रो सुझाव छ ।’

कुटनैतिक सम्बन्ध स्थापना भएको छ दशकमा भन्दा बढि समयमा नेपाल र चीनबीच धेरै निकट सहकाय भइरहेको बताउँदै उनको भनाई उद्धृत गदै भेटमा सहभागीले हैनानबाट कान्तिपुरसँग भने, ‘प्रधानमन्त्री दाहालको यो भ्रमणले सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्‍याउन महत्वपूर्ण हुने विश्वास मैले लिएको छु ।’

प्रधानमन्त्री दाहाल र सि बीच गत असोजमा गोवामा भएको भेटवार्ता धेरै महत्वपूर्ण रहेको बताउँदै उनले भने, ‘चीनले सधै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएकोछ । र, नेपालको राजनीतिक स्थायीत्व र विकास नै चीनको चाहना हो ।’ चीनका राष्ट्रपतिले उपर्युक्त समयमा नेपालको भ्रमण गर्ने जानकारी दिंदै प्रधानमन्त्री दहालले अघि बढाएको रेलवे, ब्यापार, संजाल, र पूर्वाकार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको उनले बताए । चीन नेपालको विकासलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारी दिएको समेत भेटमा सहभागिले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनिया राष्ट्रपति सि जिनपिङले अघि बढाएको वान बेल्ट वान रोड (ओबर)मा नेपालको सहभागिता रहने बताएका छन । चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग बोआओ फोरमको साइडलाइन भेटवार्तामा उनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।

बिहीबार राति गोन्जाओ हुँदै शुक्रबार बिहान हैनानको बोआओ पुगेका दाहालले अपरान्ह उपप्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने धारणा प्रधानमन्त्रीले राख्दै नेपाल ओबरमा सहयात्री हुनेमा दुईमत नभएको बताएको उनीसँगै रहेका अधिकारीहरुले बताए ।

प्रधानमन्त्री दाहालले नेपाल र चीन सम्वन्ध लामो समयदेखि आत्मीय र समस्यारहित रहेको पनि बताए । उनले नेपाल ‘एक चीन’ नीतिप्रति सधै प्रतिवद्ध रहेको पनि दोहोर्‍याए । नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने दृढता समेत ब्यक्त गरेका थिए । हरेक प्रधानमन्त्री वा मन्त्री चीन पुग्दा भनिने धारणा उनले पनि दोहर्‍याएका हुन ।

प्रधानमन्त्री दाहालले चीनको विकास र आर्थिक उन्नतिवाट नेपालले पनि फाइदा लिन सक्ने बताउँदै सहयोगको अपेक्षा पनि ब्यक्त गरेका थिए । ‘नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई संविधान जारीसँगै संस्थागत भएको छ । अहिले स्थानीय तहको निर्वाचनको तयारीमा हामी छौ । यसबैबाट  संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिलशुने विश्वास हाम्रो छ,’ प्रधानमन्त्री दाहालले चिनिया उपप्रधानमन्त्रीलाई ब्यक्त गरेको धारणा उद्धृत गर्दै परराष्ट्र अधिकारीले भने, ‘रसुवा–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण हाम्रो महत्वको विषय हो । इन्धन भण्डारण र अन्तरदेशिया विद्युत सञ्जाल हाम्रो अवश्यकता हो ।’

पारबाहन सम्झौता र इन्धन आपुर्तिको मोडालिटीको विषयमा समेत प्रधानमन्त्रीले कुरा उठाएका थिए भने चिनिया उपप्रधानमन्त्री आफूहरु त्यसमा तयार नै रहेको तर नेपालको तर्फबाट नै चासो कम भएको जानकारी आफूले पाएको बताएका थिए । पूर्वाधार विकास, सीमापार आर्थिक क्षेत्र लगायतको विषमया चीनको सहयोग अपेक्षा गरेका थिए । उनले त्योसँगै तातोपानी नाका खुलाउन समेत आग्रह गरेको प्रधानमन्त्रीको ब्यक्तिगत वेबसाइटमा उल्लेख छ  । तातोपानी नाका खोलेर त्यसलाई सुचारु गर्न आवश्यक रहेको उनले बताएको त्यहा राखिएको छ । त्यो नाकासँगै अन्य नाकाहरु खोलेर अघि बढ्न पर्नेमा जोड दिएको उनको सचिवालयले  जनाएको छ ।

पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता द्रुत रुपमा अघि बढाउन आफू लागी पर्ने समेत उनले बताएको एक अधिकारीले जानकारी दिए । ‘दुई देशबीचको सम्बन्ध र आपसी हितका विभिन्न विषय प्रधानमन्त्रीले खुलेर कुराकानी भएको थियो,’ उनले स्पष्ट पारे ।

साभारः कान्तिपूरअनलाइन