नेपाल-नामिबिया दोस्रो खेल आज, जितसँगै माथि उक्लने योजना


६ चैत्र काठमाडौं: आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले सोमबार नामिबियासँग दोस्रो खेल खेल्दैछ । शनिबार सम्पन्न पहिलो खेलमा पाँच विकेटको जित हात पार्दै अंकको खाता खोलेको नेपाल लगातार दोस्रो जित हात पार्दै तालिकामा एक स्थान माथि उक्लने योजनामा छ । नेपाल यसअघि स्कटल्यान्ड र पपुआ न्युगिनीसँग पराजित भएको थियो । तर, करिब तीन वर्षपछि घरेलु मैदानमा उत्रिएको नेपाली सिनियर टोलीले शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ हजारभन्दा बढी दर्शकसामु राम्रो प्रदर्शन गरेको थियो ।

डिभिजन च्याम्पियनसिपमा आठ टोली छन् भने हरेकले हरेकसँग दुईदुई खेल खेल्नेछन् । प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटमा सहभागी हुने अवसर पाउनेछन् भने अन्तिमका चार टोली डिभिजन दुईमा झर्नेछन् । नेपालले आगामी दुई खेलमा नेदरल्यान्ड्स र केन्याजस्ता दुई बलिया टोलीसँग खेल्नुपर्ने भएकाले नेपाललाई सोमबार जित अनिवार्य छ । ‘हामीलाई अगाडिको यात्रा तय गर्न अब हरेक खेलमा जित चाहिन्छ । एउटा खेल जितेरमात्र पुग्दैन’, नेपाली टोलीका कप्तान पारस खड्का भन्छन् ।
नेपालले चौथो चरणमा नेदरल्यान्ड्स, पाँचौं चरणमा केन्या, छैटौं चरणमा हङकङ र सातौं चरणमा यूएईको सामना गर्नेछ । नेदरल्यान्ड्ससँग नेपालले उसैको मैदानमा खेल्नेछ । नामिबियालाई हराएलगत्तै नेपाल अंकतालिकामा दुई स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको थियो । पाँचौं स्थानमा रहेको पपुआ न्युगिनीको चार खेलबाट चार अंक भए पनि नेट रनरेटमा नेपालभन्दा पछाडि छ । सातौं स्थानमा रहेको नामिबियाको पाँच खेलबाट दुई अंक र आठौं स्थानमा रहेको यूएईको ६ खेलबाट दुई अंक भए पनि दुवै टोली नेट रनरेटमा नेपालभन्दा तल छन् ।
शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले ६ खेलबाट १० अंक, दोस्रो स्थानमा रहेको हङकङले ६ खेलबाट नौ अंक, तेस्रो स्थानमा रहेको स्कटल्यान्डले ६ खेलबाट सात अंक र चौथो स्थानमा रहेको केन्याले चार खेलबाट ६ अंक जोडेको छ । शनिबार भएको खेलमा नेपाली स्पिनरले उत्कृष्ट प्रदर्शन गरेका थिए । 
उदीयमान सन्दीप लामिछानेदेखि अनुभवी वसन्त रेग्मी र शक्ति गौचन तीनैजना स्पिनरको प्रदर्शन प्रशंसायोग्य थियो ।
यसैगरी ब्याटिङमा पनि नेपालले राम्रो सुरुआत गरेको थियो । खेलको परिस्थितिअनुसार मध्यक्रमका विनोद भण्डारी र अनुभवी शरद भेषावकरले आवश्यक पालि खेलेका थिए । ‘यो विकेटमा नामिबियालाई हामीले एक सय ५० रनभित्र समेट्न सक्नुपर्छ’, कीर्तिपुर मैदानको विकेटबारे प्रशिक्षक टमटाले भने । नेपालले सन् २०१५ को जनवरीपछि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा जित हात पारेको हो ।

साभारः अन्नपूर्ण पोष्ट