असार २२ गते । प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक तर्जुमा कार्य अन्तिम चरणमा पुगेको छ । सात प्रदेशमा ५५० सदस्यका लागि आगामी असोजको अन्तिम साता निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ । संविधानअनुसार प्रदेश सभा एक सदनात्मक हुनेछ । प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र हुने संविधानमा व्यवस्था छ । प्रदेश सभामा प्रत्यक्षतर्फ प्रतिनिधि सभाको दोब्बर सदस्य हुने प्रावधान छ । संविधानअनुसार प्रदेश सभामा प्रत्यक्ष ३३० र समानुपातिकतर्फ २२० सदस्यका लागि निर्वाचन हुनेछ ।
प्रदेशसभा निर्वाचनको विधेयकलाई अन्तिम रूप दिने क्रममा बुधबार आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितको बैठक बसेको थियो । आयोगका कानुन सहसचिव सुशील कोइरालाले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोगले २०७३ फागुनमै मस्यौदा विधेयक गृह मन्त्रालयलाई पठाएको थियो । गृहले कानुन मन्त्रालयमा पठाएपछि विधयेक पुनः निर्वाचन आयोगमा आइपुगेको हो ।
आयोगका उपसचिव (कानुन) कृष्णराज खनालले बुधबार नै कानुन मन्त्रालयमा विधयेकबारे थप छलफल भएको र धेरै विषयहरू टुङ्गोमा पुग्न लागेको जानकारी दिनुभयो । बैठकमा गृह सचिव लोकदर्शन रेग्मी, कानुन सचिव कमलशाली घिमिरेलगायत सहभागिता थियो ।
साभारः गोरखापत्रअनलाइन



Prawash Kumar Shakya । २२ असार २०७४, बिहीबार ०२:३७ बजे