
६ साउन, भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी इन्सपेक्टरलाई विभागीय कारबाही पनि भएको छ ।
प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार अनलाइनखबरले प्रकाशित गरेपछि रुपन्देही प्रहरीले फास्ट ट्रयाकमा घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।
घटनामा संग्लन युवतीका बुवाका इन्नर यादवसहित ६ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले अनलाइनखबरलाई जानकारी दिए । साथै इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख इन्सपेक्टर उदयसिंह सिंजापति उपर पनि विभागीय कारवाही अगाडि बढाइएको धानुकले जानकारी दिए ।
उनका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दिनेश यादव, ५५ वर्षीय लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले युवक २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरेको कारण उनी माथि विभागिय कारवाही प्रक्रिया अगाडि बढाइएको हो । सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानेर स्पष्टिकरण सोधिएको छ ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । ६ श्रावण २०७४, शुक्रबार ०९:०९ बजे