काठमाडौँ, साउन १० गते । कुराकानीका लागि मात्रै प्रयोग हुँदै आएको नेपाल टेलिकमको ल्यान्डलाइन फोनबाटै अब ब्रोडब्यान्ड इन्टरनेट प्रयोग पनि गर्न सकिने भएको छ । टेलिकमले पुरानो प्रविधिको पब्लिक स्विच्ड टेलिफोन नेटवर्क(पीएसटीएन) टेलिफोनको गुणस्तर अभिवृद्धि गर्ने योजनाअन्तर्गत पुराना उपकरणलाई इन्टरनेट प्रोटोकल(आईपी) प्रविधिले विस्थापित गर्न लागेको हो । यससँगै ल्यान्डलाइन फोनको तारबाटै इन्टरनेट ब्यान्डविथ पनि पठाउन सकिने व्यवस्था टेलिकमले गर्नेछ ।
टेलिकमले २५ वर्षअघिदेखि प्रयोगमा ल्याएको डिजिटल स्विचिङ उपकरणको ठाउँमा आईपी प्रविधिले प्रतिस्थापन गरेर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउन लागेको हो । ल्यान्डलाइनमा टेलिफोनमा प्रयोग भइरहेको कपर तारलाई पनि फाइबरले विस्थापन गर्दैछौँ, टेलिकमका प्रवक्ता सोभन अधिकारीले भन्नुभयो । ब्रोडब्यान्ड इन्टरनेट प्रवाहका लागि फाइबर उपयुक्त मानिन्छ ।
टेलिकमको नयाँ योजनाअनुसार आईपी लाइनबाटै एडीएसएल इन्टरनेट प्रयोगकर्ताले पनि सहजै यसको प्रयोग गर्न सक्नेछन् । यसै योजनाअन्तर्गत टेलिकमले पहिलो पटक गत असार २३ गते ग्वार्कोस्थित ललितपुर एक्सचेञ्जमा पुराना स्विचिङ उपकरणलाई आईपीमा आधारित उपकरणले विस्थापन पनि गरिसकेको छ । टेलिकमले पहिलो चरणमा आगामी दुई महिनाभित्र एक लाख ३४ हजार पुराना स्विचिङ उपकरणलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसै आर्थिक वर्षभित्र चार लाख उपकरण आईपी प्रविधिमा रूपान्तरण गर्ने योजनामा रहेको टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार देशभर टेलिकमका ६ लाख ८० हजार पीएसटीएन ग्राहक रहेका छन् । आईपी प्रविधिमा रूपान्तरण भएपछि ग्राहकले आफ्नो आवश्यकताअनुसारको ब्यान्डविथमा इन्टरनेट प्रयोग गर्न सक्छन्, सहप्रवक्ता अधिकारीले भन्नुभयो । आईपीमा रूपान्तरण भएपछि विशेषगरी ल्यान्डलाइनको भ्वाइस र डाटाको गुणस्तरमा व्यापक सुधार आउने उहाँले जानकारी दिनुभयो ।
ल्यान्डलाइनबाटै टेलिभिजन
लक्ष्यअनुसार टेलिकमले सबै आईपीमा रूपान्तरण भइसकेपछि ल्यान्डलाइन फोनबाटै अतिरिक्त सुविधा (भ्यालु एडेड सर्भिस) पनि ग्राहकलाई उपलब्ध गराउने जनाएको छ । समयअनुसार ल्यान्डलाइन फोनको उपयोगितालाई बढाउन नयाँ किसिमका सुविधा थप गर्न लागेको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ल्यान्डलाइनलाई नयाँ प्रविधिमा रूपान्तरण गरिसकेपछि इन्टरनेटमा आधारित टेलिभिजन (आईपी टीभी) को सुविधा ग्राहकले प्राप्त गर्न सक्नेछन् । अहिले पनि नेपालमा केही इन्टरनेट सेवा प्रदायकले आएपीटीभी सञ्चालनमा ल्याएका छन् ।
आईपी टेलिभिजन प्रयोगकर्ताले छुट्टै केवल अथवा डिजिटल च्यानल प्रसारकको सुविधा लिनुपर्दैन । त्यस्तै ग्राहकको मागअनुसारका भिडियो प्रसारण गर्न सकिने (भिडियो अन डिमान्ड) सुविधा पनि आईपीमा आधारित ल्यान्डलाइनबाट उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
वेबसाइटबाटै टेलिकमको डाटा प्याकेज
नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि उपलब्ध गराएका डाटा प्याकेज कम्पनीको वेबसाइटबाटै खरिद गर्न सकिने भएको छ । टेलिकमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वेबसाइटमा जीएसएम वा सीडीएमका डाटा प्याकेज छनोट गरेर आफ्नो मोबाइल नम्बर र
पीपीयूके नम्बर राख्नुपर्छ । यस्तो नम्बर १४१५ मा एसएमएस गरेर जानकारी लिन सकिने टेलिकमले जनाएको छ । वेबसाइटमा आवश्यक विवरण राखेर बाई डाटा प्याक क्लिक गरेपछि उक्त डाटा मोबाइलमा प्राप्त हुनेछ ।
साभारः गोरखापत्रअनलाइन
Prawash Kumar Shakya । १० श्रावण २०७४, मंगलवार ०६:५१ बजे