
२० साउन, काठमाडाैं । नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइ चाउचाउको यूरोपबाट पनि व्यवसायिक उत्पादन शुरु भएको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाइ प्लान्टबाट युरोपीयन उपभोक्ताका लागि वाइवाइ उत्पादन शुरू भएको हो ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहिबार सर्बियास्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहका बीच व्यवसायिक उत्पादन (कमर्सियल प्रोडक्सन)को उद्घाटन गरेका छन् ।
प्लान्ट उद्घाटन गर्दै अध्यक्ष चौधरीले भने ‘नेपाली उत्पादन विश्वब्यापी ब्राण्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ’, यो प्रत्येक नेपालीका लागि गौरवको बिषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौँ ।’
नेपाल र भारतपछि वाइवाइ युरोप, अफ्रिका, मध्यपूर्व र एसियाका अन्य देशहरूमा विस्तार गर्ने रणनीति अनुरूप हाल युरोपबाट उत्पादन शुरू भएको हो ।
सन् २०२० सम्ममा अन्तर्राष्ट्रिय थप १० ठाउँबाट वाइवाइ उत्पादन गर्ने योजना रहेको चौधरी ग्रुपले जनाएको छ । सर्बियामा स्थापना भएको वाइवाइको यो १७ औँ प्लान्ट हो
सिजी इन्डष्ट्रियल पार्क नवलपरासीमा वाइवाइको थप एक प्रोडक्सन युनिटको विस्तारसँगै नेपालमा ७ वटा प्रडक्सन युनिट छन् । केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन शुरू भएको थियो । निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागि आवस्यक तयारी शुरू भइसकेको छ ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । २० श्रावण २०७४, शुक्रबार १४:१८ बजे