जेलमा बसेको ब्याज खान पाइन्न संयोजक–मिश्र


असोज १९, सुर्खेत ।

विवेकशिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले अब आउने निर्बाचनमा आफ्नो पार्टी नेपालको पहिलो पार्टी बन्ने दाबि गर्नुभएको छ । ४५ बर्ष अघिको योजना सुर्खेतमा कार्यान्वयन हुन नसेकेकोमा दुख ब्यक्त गर्दै मिश्रले यस्ता क्रियाकलापहरु रोक्नका लागि बैकल्पिक शक्तिको रुपमा स्थापित विवेकशिल साझा पार्टी अबको प्रमूख पार्टी हुने दाबि गर्नुभएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन कार्यक्रममा बोल्दै संयोजक मिश्रले १४ बर्ष जेलमा बसेको भन्दै नमरुन्जेल सम्म त्यसको ब्यक्तिगत ब्याज खाने परम्पराको अन्त्य गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस र नेकपा को बिकल्पका रुपमा विवेकशिल साझा पार्टी स्थापना भएको भन्दै मिश्रले आफूहरुको पहिलो प्राथमिकता भ्रष्टाचारको अन्त्य भएको बताउनु भयो । सरकारमा बस्ने, सांसद, मन्त्री हुने अनि आफ्ना र आफ्ना आसेपासेहरुका महलहरु निर्माणमा कांग्रेस र नेकपाका नेतृत्वहरु लागि परेकाले कर्णाली प्रदेश सँगै मूलुक दरिद्र बन्दै गएको जिकिर गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय संयोजन समिति सदस्य केशव दाहालले कर्णाली नबन्नुमा पुराना दल, नेता र सरकारको जिम्बेवार भएको भन्दै यसको बिरुद्धमा सबै नागरिकहरु लाग्नु पर्नेमा जोड दिनुभयो । हरेक नेपालीले म कमजोर किन भएँ भन्ने प्रश्न उठाउन जरुरी छ, दाहालले थप्नुभयो ठालुका लागि होइन धुलोमा बस्ने नागरिकहरुलाई समेत समृद्ध बनाउन आफूहरु लागि परेका छौं ।

पार्टीका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारले पुरानो ढर्राबाट समृद्धि सम्भव नभएको भन्दै बैकल्पिक शक्तिको रुपमा आफूहरु उपस्थित भएको बताउनु भयो । उहाँले इमान्दारीता हराउदै गएकाले कुशल नीति र नेतृत्वले मात्रै मूलुक परिबर्तन हुने हुँदा त्यो बिकल्प विवेकशिल साझा पार्टी मात्रै भएको जिकिर गर्नुभयो ।

कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहालले कर्णालीलाई भोकमरी, गरिबिको प्रयाबाचीको रुपमा चित्रित गर्ने पुराना दलहरु भएकाले यसको बिकल्प रोज्न आग्रह गर्दै सुन्दर मूलुक र सुखि नेपाली बनाउने अभियानमा लामबद्ध हुन आग्रह गर्नुभयो । सो अबसरमा बिभिन्न पार्टी परित्याग गरि विवेकशिल साझा पार्टीमा प्रबेश गर्नेलाई संयोजक मिश्रले स्वागत गर्नुभएको थियो ।