

२२ भदौ, काठमाडौ । चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ आ पटक आमरण अनसन बसेका त्रि.वि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज (बुधबार)देखि अनसन बस्ने भएका छन् ।
तराईमा आएको बाढीका कारण ११ औ अनसन बीचमै स्थगित गरेका डा. केसीले आज दिउँसो साढे तीन बजेसम्म पनि अाफ्ना माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् ।
डा. केसीले यही भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी आफू ११ औ अनसनमा रहँदा नै त्रि.वि कार्यकारी परिषद्ले जालझेल पूर्वक काठमाडौंको घट्टेकुलोस्थितस्थित नेशनल मेडिकल कलेजलाई सम्बन्ध दिएको बताउँदै उक्त सम्बन्धन तत्काल खारेज नभए यही भदौ २१ गतेदेखि अनसन थाल्ने चेतावनी दिएका थिए ।
डा. केसीले त्रि.विका सबै अधिकार फिर्ता गरिनु पर्ने, आफूले दिएको सुझाव तथा माथेमा प्रतिवेदन अनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, त्रिविका उपकुलपति , रेक्टर, रजिष्टार लगायतका कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानबीन तथा कारवाही प्रक्रिया अघि बढाउन माग गरका छन् ।
यस्ता छन् उनका माग
१) काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस् । त्रि.विले दुरुपयाग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस् ।
२) हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस् ।
३) त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस् । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस् ।
Prawash Kumar Shakya । २१ भाद्र २०७४, बुधबार ०८:२१ बजे